
क्रेजी साप्ताहिक
पथरी । सडक कालोपत्रे गर्ने क्रममा व्यापक लापर्वाही भएको भन्दै मोरङको पथरीशनिश्चरे नगरपालिकाद्वारा काम बन्द गरिदिएको छ ।
नगरमा अवस्थित पथरी–डाइनिया सडक कालोपत्रे कार्यमा लापरवाही भएको पाइएपछि सोमबार नगरपालिकाले कामै बन्द गरिदिएको हो । केही दिन अघिदेखि सुरुवात पथरीशनिश्चरे–७ को सम्झना चोकदेखि मायालुचोकसम्मको सडक कालोपत्रे गर्ने क्रममा निर्माण कम्पनीले लापर्वाही गरेको पाइएको छ ।
कम्पनीले पुरानो सडक नउप्काई त्यहीँमाथि गिट्टी हालेर कालोपत्रे गर्न सुरु गरेको थियो । तर, नगरका उपप्रमुख यमुना विष्ट बाँस्तोलाले निर्माण हुँदै गरेको सडक अनुगमन गर्ने क्रममा मापदण्ड विपरीत काम भइरहेको भेटेपछि बन्द गरिदिएका हुन् । सडक निर्माणका १ नम्बर प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले बजेट दिएको हो ।
पुरानो सडक भत्किएपछि सात सय मिटर फेरि कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयले बजेट दिएको थियो । तर, पुरानो कालोपत्रे नभत्काइ त्यहीँ माथिबाट कालोपत्रेको काम सुरु भएपछि अनुगमन समिति संयोजकसमेत रहेका उपप्रमुख बाँस्तोलाले काम बन्द गराएका हुन् ।
अनुगमनका क्रममा गम्भीर लापर्वाही भएको देखेपछि तत्कालको लागि काम बन्द गराएको उपप्रमुख बिष्टले सञ्चारकर्मीहरुलाई जानकारी गराइन् । बिष्टले सडक मापदण्ड विपरीत निर्माण गरेको भेटेपछि काम रोक्नु परेको बताइन् । उपप्रमुख बिष्टले भनिन्, ‘पुरानो सडक उप्काएर ‘स्केरीफाई’ गरेर, सब बेशपछि बेशलगायतको प्रक्रिया गर्नुपर्नेमा मापदण्ड विपरीत गिट्टी प्रयोग गर्नुको साथै ग्रेडिङ समेत नगरेकाले काम रोक्नु परेको हो ।’
उनले संघ, प्रदेश, नगर जुनसुकै निकायको बजेट भएपनि नगरभित्र गुणस्तरीय काम गर्न अनुरोधसमेत गरे। अनुगमनको लागि उपप्रमुख विष्ट, ७ नम्बर वडाध्यक्ष कपिलमणि ढकाल, नगरको प्राविधिक टोली सहित त्यहाँ पुगेका थिए ।

झापाको दमकमा स्थापित वल्र्ड ट्रेड कन्ट्रक्सन ठेक्का लिएको सो सडक मापदण्ड विपरीत काम भएपछि उपप्रमुख बाँस्तोलाले तत्काल ‘एक्सन’ लिएकी हुन् । यस्तै कन्ट्रक्सन सञ्चालक पशुपति बरालले पुरानो सडक उप्काउन कतैकतै छुटेको हुनसक्ने प्रतिक्रिया दिए । यद्यपि, हतार–हतार पुरानो पिच छोप्न एकसरो पूरै गिट्टी लगाएर मिलाउन समेत थालेका थिए ।
असारे बजेटको रुपमा ल्याइएको सो सडक निर्माण लागतबारे धेरैलाई जानकारी छैन । कन्ट्रक्सन सञ्चालक बरालले पनि टेन्डरबारे बताउन चाहेनन् । पूर्वाधार विकास कार्यालय प्रमुख सुशील श्रेष्ठ आफू कार्यालय बाहिर रहेकाले तत्काल रकम भन्न नसक्ने बताए ।
यद्यपि, प्रमुख श्रेष्ठ, ठेकेदार बराल र केही नेताको मिलेमतोमा पैसा कमाउने हेतुले हतारमा गुणस्तरहीन काम गर्न खोजेको स्थानीयवासीहरुको भनाइ छ ।

