
क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरमा कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको निषेधाज्ञामा बजारको अवस्थाको अनुगमन् गरिएको छ ।
नगर उपप्रमुख, कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति सह–संयोजक एवम् अनुगमन समिति संयोजक यमुना बिष्ट बास्तोलाको अगुवाईमा समिति सदस्य एवम् पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, अनुगमन् समितिका सदस्यका साथै इलाका प्रहरी कार्यालय र नगर प्रहरीका सुरक्षाकर्मी सहितको टोलीले आज वडा नम्बर १ र २ मा अनुगमन् गरेको छ ।
टोलीले पथरी बजार र बुद्धचोक क्षेत्रमा अनुगमन् गरी केही मात्रामा खुलेका पसल बन्द गराउँदै अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न तथा अत्यावश्यक काम परे पूर्ण स्वास्थ्य सतर्कता अपनाएर छोटो समयमा काम सक्न स्थानीयलाई अनुरोध गरेको छ ।
कोरोनाको संक्रमणको अवस्था यथावत रहेकाले नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको हिजोको बैठकले औषधि पसल बाहेक अन्य सवै किसिमको पसल, व्यवसाय र आवतजावत बन्द गर्ने कार्यलाई तत्कालका लागि निरन्तरता दिने निर्णय गरेको थियो ।

