
क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरका ७० वर्ष माथिका ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम वडा वडामा सञ्चालनमा रहेको छ ।
सोही क्रममा आज वडा नम्बर १ र १० को सम्मान कार्यक्रम सम्पन्न भएको हो । हरेक वडाका दलित, आदिवासी जनजाति तथा आर्थिक विपन्न २०/ २० जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रको आयोजनामा भौतिक दूरी कायम गरेर कार्यक्रमको आयोजना गरी काँसको थाल, ढाकाटोपी, बर्काे सहितले सम्मानित गरिएको छ ।
वडा नम्बर १ को कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई (किशोर) र उपप्रमुख यमुना विष्ट बास्तोलाले ज्येष्ठ नागरिकलाई सम्मानित गर्दै नगरको विकासमा ज्येष्ठ नागरिकको महत्वपूर्ण भूमिका रहेकाले उहाँहरुको सधैं सम्मान गर्नुपर्ने वताउनु भयो । ७० वर्ष माथिका ज्येष्ठका लागि वर्षको एक पटक उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा, ८० वर्षमाथिकालाई घर घरमा स्वास्थ्य जाँच सहितका कार्यक्रम नगरले तय गरेको पनि उहाँहरुले जानकारी गराउनु भयो । नगरले ५ लाख रुपैयाँ विनियोजन गरेपछि चालु आर्थिक वर्षमा यस प्रकारको कार्यक्रम बनेको समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहालले जनाउनु भयो ।

