आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ । मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल ओमानलाई हराउँदै सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ ।
यसअघि नेपाल र ओमानबीच भएको चार एकदिवसीय खेलमा ओमानले तीन खेलमा जित निकालेको छ । नेपाले भने एक खेलमा जित निकालेको छ । आजको खेलमा नेपाल जित निकाल्दै लयलाई परिवर्तन गर्ने योजनामा छ । इतिहास हेर्दा नेपाल ओमानसँग सधैं कमजोर बनेको छ ।
तर, आजको खेलमा सहज जित निकाल्दै सिरिजमा आफूलाई बलियो सावित गर्ने नेपाललाई मौका छ । लिग टू अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिका तीन खेलहरूमा नेपाल ओमानसँग लगातार पराजित भएको थियो ।
यता ओमान पनि लिगमा जित निकाल्ने योजनामा छ । पहिलो खेलमा ओमान यूएईसँग ११४ रनले पराजित भएको थियो । त्यसैले ओमानका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ । लिग टू मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा छ । यता नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । सिरिजअन्तर्गत नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ ।