आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २१२ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको हो ।
ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले । १२६ बल खेलेका उनले १२ चौका प्रहार गर्दै १०४ रन जोडे । त्यस्तै खवार अलीले ३० रनको योगदान गर्दा सविब खानले २७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३८ रन खर्चेर ५ विकेट लिए ।
त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए । आजको खेलमा नेपाल सुखद नतिजाको योजनामा छ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको पक्षमा रहनेछ । ओमान नेपालसँगको पछिल्लो चार भेटमा कमजोर छ ।
नेपालले ओमानलाई एक पटक मात्र हराएको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो । लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ ।