क्रेजी संवाददाता
रतुवामाई । रतुवामाई नगरपालिका कमिटी एमालेले चुनावताका जारी गरेको प्रतिबद्धता कार्यान्वयनमा जोड दिने भएको छ ।
नगर उपप्रमुख दमयन्ता चुडालको नेतृत्वमा बहुमत कार्यपालिका गठन गर्न सफल भएको एमालेले भूगोलमा आधारित पार्टीको रतुवामाई नगरपालिका कमिटीको पदाधिकारी, नगरमा उपलब्ध जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय कमिटीसम्बद्ध नेतृत्वको हिजो मदनग्राममा सम्पन्न बैठकले यस्तो निर्णय लिएको हो ।
बैठकले पार्टीको तर्फबाट अघि सारिएका सूर्य चिन्ह ध्वजावाहक उम्मेदवारलाई आफ्नो अमूल्य मतमार्फत विजयी गराउनुहुने बहुसंख्यक स्थानीय मतदाताप्रति तिनको मतको सम्मान सहित आभार प्रकट गर्दै धन्यवाद प्रस्ताव पारित गरेको छ । विजयी सम्पूर्ण उम्मेदवारलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै एमालेको नेतृत्वमा बहुमत कार्यपालिका गठन प्रक्रियामा सहयोगी र सहभागी राजनीतिक दल, यसको नेतृत्व र जनप्रतिनिधि सबैलाई धन्यवाद प्रस्ताव पास गरेको बैठकमा सहभागी एकजना नेताले बताउनुभएको छ ।
पार्टी जिल्ला कमिटीले वडा–वडा तहसम्म निर्वाचनको सुक्ष्म समिक्षा गर्न र समिक्षा प्रतिवेदनको रूपमा दस्तावेज तयार गर्न माग गरेको छ । समिक्षा अभियानलाई सार्थक तुल्याउन यो भूगोलमा आधारित नेतृत्वले स्थानीय आवश्यकताअनुसार सहयोग र सहजीकरण गर्ने योजना अघि सारेको बैठकले स्थानीय नेतृत्व लक्षित अराजनीतिक हर्कतको एकस्वरमा गम्भीर खेद प्रकट गर्दै निन्दा एवं भत्र्सना गरेको छ ।
बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य युवराज बास्कोटा, बुद्धिजीवी परिषद् जिल्ला अध्यक्ष सोमराज थापा, यसको सदस्य गणेशराज ढकालको उपस्थिति उल्लेख्य रहेको सहभागी एकजना नेताले जनाउनुभएको छ ।
समाजको अत्यन्तै जिम्मेवार, एउटा गतिशील र जीवन्त यो पार्टीमा विगत केही समययता परस्पर शंका र उपशंका, मर्यादा र सम्मान अभाव, आदभाव र स्नेह अभावका कारण अलिक असहजजस्तो भएको थियो, हिजो सम्पन्न बैठक र यसले लिएका निर्णयहरूको कार्यान्वयनसँगै एक ढंगले भन्नु पर्दा आइसब्रेक भएको उहाँले थप्नुभयो ।