आफैले नेतृत्व गरेको समूह असफल हुन्छ भन्नु कत्तिको जायज हो ? त्यो पनि सफलता र असफलको मैदानमा होमिनु पूर्व नै । तर, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोली एएफसी एसियन कप छनोट खेल खेल्न पूर्व नै हामी छनोट हुन सकेनौँ भने ।
उनको त्यो अभिव्यक्तिले धेरै आलोचना खप्नुपयो । कडा मेहनत गरेर देशलाई जित दिलाउने सोच बनाएका खेलाडीहरू पनि निराश हुन पुगे । त्यसपछि आलोचना भएको केही दिनमा नै उनले उप–कप्तान रोहित चन्दसँग झर्किए । उप–कप्तान रोहित सहित १० जना खेलाडीले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण नै छोडेर गए ।
विवाद चुलिएको अवस्था थिएन त्यसैमा अल्मुताइरीले १७ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए । टिम तयार पारेर कुवेतमा एसियन कप छनोट खेल्न पुगे । नेपाल छनोट हुन सक्दैन भन्ने प्रशिक्षक अल्मुताइरीको यो अभिव्यक्तिलाई बेवास्ता गर्दै खेलाडीले देशलाई जिताउन सक्दो प्रयास गरे ।
प्रतियोगितामा तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजित हुन पुग्यो । नेपालले तीन खेलमा १३ गोल गर्दै मात्र एक गोल फर्कायो । इन्डोनेसियासँग त ७–० गोल अन्तरले पराजित हुन पुग्यो । त्यसपछि अल्मुताइरीले दोष खेलाडीलाई नदिनु मलाई दिनुभन्दै फेसबुकमा एउटा पोष्ट लेखे ।
पहिले जस्तै यो पोष्टले समर्थकको माया अपार पाउँला भन्ने सोचेका अल्मुताइरीको यो पटक भने समर्थकले खुलेर आलोचना गरे । जे जसो भएपनि अल्मुताइरीको नेपाल एसियन कपमा छनोट हुन सक्दैन भन्ने भविष्यवाणी पूरा भएको छ । एसियन कप छनोटअघि पत्रकार सम्मेलनमा अल्मुताइरीले भनेका थिए, ‘हामी एसियन कपमा छनोट हनु सक्दैन । रियालिटी नै यही हो ।’