पौडीको अन्तराष्ट्रिय प्रतिस्पर्धाकै बीचमा खेलाडी बेहोस भएर डुबेपछि.... - Crazysaptahik.com

पौडीको अन्तराष्ट्रिय प्रतिस्पर्धाकै बीचमा खेलाडी बेहोस भएर डुबेपछि….

अमेरिकी पौडीबाज अनिता अल्भारेज बुधबार बुढापेष्टमा जारी वर्ल्ड च्याम्पियनसिपको एक प्रतिस्पर्धाका क्रममै बेहोस भइन् । उनी विस्तारै डुब्दै गएपछि पौडी पोखरीको डिलमा रहेकी उनको कोच एन्ड्रिया फुन्टेसले उद्दार गरेकी छन् । न्युयोर्ककी २५ वर्षीया अल्भारेज आस्र्टिस्टिक स्वीमिङ अन्तरगतको एकल प्रस्तुतको अन्तिम समयमा बेहोस भएकी थिइन् ।

त्यसपछि उनको अचल शरीर पिँधतर्फ डुब्न थालेको थियो । ‘कुनै लाइफगार्ड पानीमा हाम नफालेपछि म अघि सरेँ,’ स्पेनकी चार पटककी ओलम्पिक स्वर्ण विजेता कोच फुन्टेसले स्पेनिस पत्रिका मार्कालाई भनिन् । फुन्टेसले पानी बाहिर निकालेपछि पनि अल्भारेजले दुई मिनेटसम्म स्वास नफेरेपछि भने आफूलाई डर लागेको बताइन् । तथापि पछि उनको स्थिति समान्यवस्थामा फर्किएको थियो ।

अहिले फुन्टेसको शीघ्र निर्णयको प्रशंसा भइरहेको छ । फुन्टेसका अनुसार अल्भारेजले पोखरीमा होस गुमाएको पहिलो पटक होइन । गत वर्ष ओलम्पिक छनौटको अभ्यासका क्रममा पनि अन्तिम समयमा उनले होस गुमाएकी थिइन् । त्यस समय उपचारको एक घण्टापछि उनी पुन अभ्यासमा फर्किएकी थिइन् । यस पटक पनि उनी दुई दिनपछिको खेलमा फर्किने आशा व्यक्त गरिएको छ ।

दुई पटक ओलम्पिकमा सहभागी भइसकेकी अल्भारिजको वर्ल्ड च्याम्पियनसिपमा यो चौथो सहभागिता हो । त्यस समय पनि फुन्टेसले पुरै कपडामा पोखरीमा हाम फालेर आफ्नी शिष्यलाई पानीबाट निकालेकी थिइन् । बुधबार सर्ट र टी–सर्टमा रहेकी कोचले पुन आफ्नी शिष्यलाई बचाइन् । पोखरीबाट निकालेपछि अल्भारेजलाई चिकित्सकीय उपचार गरेको र त्यसपछि स्टेचरमा राखेर थप मूल्यांकनको अस्पताल लगिएको बताइन् ।

‘यस्तो कुरा अन्य उच्च क्षमता प्रदर्शन गर्नुपर्ने खेलकुदमा पनि हुन्छ ,’ फुन्टेसले भनिन् ,‘म्याराथुन, साइक्लिङ आदी खेलहरुमा पनि केही खेलाडीहरु अन्तिम बिन्दुसम्म पुग्न सक्दैनन् र तिनलाई अरुले त्यहाँ पु¥याउन सघाउँछन् । पौडीमा पनि कहिलेकाँही त्यस्तै हुन्छ ।’ अल्भारेजले टेलिभिजनमा बोल्ने क्रममा प्रतियोगिताको कसिलो समय तालिकाका कारण आफू बेहोस भएको प्रतिक्रिया दिएकी छन् ।

‘जसरी खेल तालिका मिलाइएको छ, त्यसले गर्दा म त्यस दिन र अर्को दिन गरी दुई प्रतिस्पर्धामा सहभागी हुने एक्ली खेलाडी भएँ । शारिरिक तथा भावनात्मक कारणबाहेक पोखरीको पानी पनि निक्कै तातो थियो र त्यसमा क्लोरिन पनि कडा थियो ,’ अल्भारेजले भनिन् ।

सम्बन्धित खवर