अति विपन्न डिकमायाको घर निर्माणमा सहयोग जुट्दै - Crazysaptahik.com

अति विपन्न डिकमायाको घर निर्माणमा सहयोग जुट्दै

क्रेजी संवाददाता
पथरी । घामपानीसम्म नछल्ने घरमा जीवन निर्वाह गरिरहनुभएकी मोरङको पथरीशनिश्चरे वडा नं. ४ शिरिसेडाँडाकी डिकमाया अधिकारीको घर बनाउन सहयोग जुट्दैछ ।

३२ वर्षको उमेरमा तीन वर्ष अघि मुटु रोगबाट ग्रसित श्रीमान गुमाउनु भएकी डिकमाया त्यसयता कठोर संघर्ष गरेर आफ्ना तीन भाई छोराहरूलाई हुर्काइ रहनुभएको छ । उहाँका १३ वर्षीय, ११ वर्षीय र ८ वर्षीर्य छोराहरु छन् । एक कट्ठा ऐलानी जमिनमा रहेको घर केही दिन अघि आएको हुरी बतासले भत्काएपछि डिकमाया यो वर्षायाम कसरी कटाउने भन्ने चिन्तामा हुनुहुन्थ्यो ।

उहाँको समस्यालाई सोही वडाका वडाध्यक्ष लोककिरण न्यौपानेले सामाजिक सञ्जालमा राखेपछि अहिले धमाधम सहयोग जुट्न थालेको छ । वडाध्यक्ष न्यौपानेका अनुसार घर निर्माणका लागि कबिर लिम्बुले २ ट्याक्टर गिट्टी, पथरी जेसीजले ५ सय इँटा, तेज पाल थापाले १ ट्रिफर गिट्टी, मोहन लिम्बु, इलब घिमिरे, राजेन्द्र भण्डारीले ५÷५ बोरा सिमेन्ट, मरिचमान लिम्बु र शोभाराज तामाङले ३÷३ बोरा सिमेन्ट, रुद्र पोख्रेलले १ ट्याक्टर गिट्टी दिनुहुने भएको छ ।

महेश गिरीले घर निर्माणमा आवश्यक पर्ने रड उपलब्ध गराउने हुनुभएको छ । उता, देवराज अधिकारीले १ ट्याक्टर सोलिङ ढुंगा, तिलक माङ्मुले १ ट्याक्टर ढुंगा उपलब्ध गराउने हुनु भएको छ । थप आर्थिक सहयोग र तीन भाइ छोराहरूको शिक्षाका लागि सहयोग गर्न समेत स्थानीयले अनुरोध गर्नुभएको छ ।

गैरीगाउँ र पुलचौक युवा क्लबले श्रमदान गरेर घर बनाइदिने वडाध्यक्ष न्यौपानेको भनाइ छ । घर निर्माण सम्पन्न भएपछि रंग रोगन र बिजुली जडानको काम खगेन योगीले गर्नुहुने भएको छ । शनिबारदेखि घर निर्माण कार्य सुरुवात हुने वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर