बिष्णु भट्टराई भन्छिनः ‘पहिचानको आन्दोलन सफल बनाएरै छाड्छौ’ - Crazysaptahik.com

बिष्णु भट्टराई भन्छिनः ‘पहिचानको आन्दोलन सफल बनाएरै छाड्छौ’

क्रेजी संवाददाता
पथरी । पहिचानवादी नेतृ विष्णु भट्टराईले प्रदेश नं.१ मा चलिरहेको आन्दोलन सफल बनाएरै छाड्ने बताउनु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समिति (मोरङ)द्वारा आयोजित पाँच दिने सिप बिकास तालिम समापन कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएउनु भएको हो । आफू (भट्टराई) जस्तै अनुहारले उत्पीडित समुदायको मुद्धा, पीडा नबुझेको र एकलौटी रुपमा शासन चलाउदै आएको कारण नेपालमा समस्या ग्रस्त भएको भट्टराईको भनाइ थियो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेकी भट्टराईले कोशी नाम विरुद्धको आन्दोलनमा आदिबासी जनजाति, प्रगतिशील खस÷आर्य, दलित, मधेशी, मुश्लिम लगायत सबै लाग्न आग्रह गर्नुभयो । भट्टराईले कोशी नाम विरुद्धको आन्दोलन सफल बनाएरै छाड्ने दाबी गर्नुभयो । कार्यक्रमको बिशेष अतिथि रहनु भएका किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले पहिचानको आन्दोलन कुनै जाति, पार्टी विरुद्ध नभएर नश्लवाद/जातिवाद विरुद्धको संघर्ष भएको बताउनु भयो ।

प्रदेश १ मा चलिरहेको आन्दोलन शान्ति, संमृद्धि, समाजवाद र राष्ट्रिय एकताको लागि भएको तर्क प्रस्तुत गर्दै एमाले/कांग्रेस भित्रका सचेत नेता, कार्यकर्ताहरुलाई खुलेरै सडक संघर्षमा आउनु आव्हान गर्नुभयो । पहिचानको आन्दोलन सफल हुँदा कोही हार्नु नपर्ने प्रदेशबासी जनताको जितहुने उपमहासचिव राईको तर्क थियो । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे समन्वय समितिको अध्यक्ष देवेन्द्र वनेम लिम्बूको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि नगरको उपप्रमुख देबिमाया काफ्ले रहनु भएको थियो । प्रमुख अतिथि काफ्लेले तालिमले नगरमा रहेका आदिबासी जनजातिहरुको क्षमता वृद्धि भएकोमा आफू विश्वास्त रहेको बताउनु भयो ।

उपप्रमुख काफ्लेले आफूहरु खालिखुट्टा हिडेर भूमिगत आन्दोलनमा लागेको स्मरण गराउदै नेतृत्व विकास गर्न अहिले सहिजो भएको बताउनुभयो । कार्यक्रममा महासंघको पूर्ब अध्यक्ष हेमभक्त तमू, तमु ह्युला छोज धिको नगर अध्यक्ष राजेन्द्र गुरुङ, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष विक्रम लिम्बू लगायतको उपस्थिति रहेको थियो । पाँच दिनसम्म चलेको तालिमको सहजिकरण रुद्र तामाङले गर्नुभएको थियो । भाषण कला, नेतृत्व विकास, प्रस्तावना तथा माइन्युट लेखन तालिमा विभिन्न जातीय समुदायको ५८ जना सहभागिता रहेको थियो ।

सम्बन्धित खवर