जननेता भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण - Crazysaptahik.com

जननेता भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण

पथरी। तत्कालीन नेकपा (माले) का महासचिव एवम् जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्ती आज देशभरि मनाइएको छ ।

पार्टीको पथरी शनिश्चरे नगरपालिका कमिटीले वडा–वडाबाट उपस्थित सयौँ स्थानीय नेता, कार्यकर्ता र सामाजिक अगुवामाझ आज बिहानैदेखि विभिन्न ७२ प्रजातिका वृक्षारोपण गर्दै ७२ औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न गरेको हो । शहरको वडा नं. १, बुद्धचौकस्थित पञ्चायत माविको परिसरमा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापोले बहुगुणीय अम्बालाको वृक्ष रोपेर कार्यक्रम आरम्भ गर्नुभएको थियो ।

पूर्वनगर प्रमुख दिलिपकुमार राई, पार्टी प्रदेश कमिटी सदस्यद्वय देवराज भण्डारी, पर्शुराम मिश्र, जिल्ला सदस्य भगतचन्द्र थपलिया, यमुना विष्टलगायत स्थानीय नेतृत्वको उपस्थिति रहेको कार्यक्रममा १०, १, २ र ८ नम्बर वडाध्यक्षहरू क्रमशः जीवन खतिवडा, भीमकुमार राई, नैना राई, नवीनजंग कार्कीसहित उल्लेख्य जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपालको नगरपालिका कमिटीको समेत सहकार्य रहेको यस कार्यक्रममा मुक्ति समाज नेपाल, जिफण्ट, अनेमसंघको प्रतिनिधिमूलक सहभागिता रहेको पार्टीका १ नम्बर वडाध्यक्ष प्रदीपकुमार राईले जानकारी दिनुभयो ।

जननेता मदनकुमार भण्डारीको परिस्कृत बिचारले नेपालको बाम–प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनलाई एकीकृत ढंगले संगठित गर्दै लगेको र जनापेक्षाअनुसार समाजवादउन्मुख कार्यक्रमका रूपमा उहाँको बिचार जबरजस्त फैलिएको राजनीतिक–बैचारिक प्रसङ्ग उठाउनुहुँदै अध्यक्ष रमेश दाहाल र नेता देवराज भण्डारीले जननेता भण्डारी यतिबेला भौतिक रूपमा नरहे पनि बिचारले कालजयी रहनुभएको दावी पेश गर्नुभयो ।

उपाध्यक्ष प्रकाशबहादुर कार्कीका अनुसार जननेताको अगुवाइमा प्रतिपादित बिचार त मनसपटलमा रोपियो नै, मानवमैत्री पर्यावरण र वातावरणीय सन्तुलनका लागि पनि आधार तयार गरियो भन्दै युवा संघ नगर अध्यक्ष उपेन्द्र मादेन लिम्बूले सहभागी सबैलाई खुशी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा, सदस्यहरू गोमा दाहाल निरौला, रामप्रसाद ग्यावा तामाङ, प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शिक्षक राजु तिम्सिनालगायत विद्यालय परिवारको समेत सक्रिय सहभागिता रहेको थियो ।

नेता कुलमणि गुरुङको पहलमा जुटाएका ७२ वटाभन्दा बढी पनि बिरुवा रोएिका छन् । दैनन्दिन हेरचाह र समयसमयमा गोडमेल आवश्यक छ । यहाँ रोपिएका वृक्षहरूमा फल दिने, फूल दिने, सौन्दर्य दिने, वातावरण दिने र सुगन्ध दिने प्रकृतिका वनौषधियुक्त बिरुवा भएको उपसचिव रुकमिणा अधिकारी बजगाईले बताउनुभयो ।

सम्बन्धित खवर