
ईश्वर दुलाल
पथरी । पथरी शनिश्चरे नगरपालिका–९ स्थित मोरङ म्यारिगोल्ड बोर्डिङ स्कुलले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको छ ।
विद्यालयका अनुसार यस वर्ष कक्षा १२ मा सहभागी ३६ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् । प्रकाशित नतिजाअनुसार विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको शैक्षिक स्तरलाई थप उचाइमा पु¥याएका छन् ।
विद्यालयका कोअर्डिनेटर तथा निर्देशक प्रभाकर खरेलका अनुसार प्रमोद गडतौलाले ३.७७ जीपीए प्राप्त गर्दै विद्यालयतर्फबाट सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन् । त्यस्तै २४ जना विद्यार्थीले ३ भन्दा माथिको जीपीए प्राप्त गरेका छन् भने १२ जना विद्यार्थीले २ भन्दा माथिको जीपीए ल्याएका छन् ।
वि.सं.२०५४ सालमा स्थापना भएको म्यारिगोल्ड बोर्डिङ स्कुलले हरेक वर्ष शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । यसअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पनि विद्यालयले उल्लेखनीय सफलता प्राप्त गरेको थियो ।
विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको क्षमता विकासमा जोड दिँदै विभिन्न अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिमा समेत उत्कृष्ट उपलब्धि हासिल गर्दै आएको जनाएको छ । विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीप्रति बधाई तथा धन्यवाद व्यक्त गरेको छ ।


