क्रेजी साप्ताहिक
पथरी । मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु भएका चार जनाको मोरङको सुनवर्षी नगरपालिका–९ डाईनियामा आइतबार सामूहिक अत्येष्टी गरिएको छ ।
डाईनिया बजारको पूर्वतर्फ २ बिघा क्षेत्रफलमा रहेको कब्रिस्थानमा मुस्लिम रीतिरिवाज अनुसार उनीहरुको अन्त्येष्टी गरिएको हो । सुनवर्षी–९ डाईनियाको मुस्लिम बस्तीस्थित मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न एकपछि अर्को गर्दै भित्र छिरेका चार जनाको शनिबार मृत्यु भएको थियो । मृत्यु हुनेमा मुस्लिम बस्तीका २० वर्षीय मोहम्मद फिरोज आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय ओसिव आलम र ४५ वर्षीय कपिल आलम रहेका छन् । मृत्यु हुने मध्ये सहनवाद र कपिल बाबु छोरा हुन् ।
मृत्यु हुनहरुको सामूहिक अन्त्येष्टीका लागि मुस्लिम धर्मावलम्बीको ठूलो भीड लागेको थियो । अन्त्येष्टीका क्रममा भेला भएका सबैले नमाज पढेर चारै जनाको अन्तिम विदाई गरे । एक महिना अघि चारैतिर बन्द गरेर हावा पास हुन नसक्ने गरी मस्जिदको १२ फिट गहिरो ट्यांकीको ढलाई गरिएको थियो । त्यही ढलाईको सेट्रिङ खोल्नका लागि एकपछि अर्को गर्दै गएकाहरुको निसास्सिएर मृत्यु भएको हो । मानव स्वास्थ्यका लागि हानिकारक ग्यास लामो समयदेखि बन्द रहेको सेफ्टी ट्यांकी भित्र जम्मा भएर रहेको र एक्कासि खोलेर भित्र छिर्दा त्यसको असर एवं अक्सिजनको अभावले बेहोस भएर चारै जनाको मृत्यु भएको चिकित्सकले बताएका छन् । ‘ट्यांकीभित्र एकपछि अर्को गर्दै छिरेकाहरु बेहोस भइरहँदा अरु व्यक्ति पनि उनीहरुको उद्धारका लागि भनेर पस्न खोजेका थिए,’ स्थानीय मोहम्मद रसिद आलम, ‘तर अरुलाई भने रोकेर छिर्न दिइएन ।’ भेलाजम्मा भएका गाउँलेले भित्र पस्नबाट रोकेकै कारण अरुको भने ज्यान जानबाट जोगिएको उनको भनाइ छ ।
अक्सिजनसहित गएको चिकित्सक र प्रहरीको टोलीले बेहोस अवस्थामा चार जनालाई बाहिर निकालेर उपचारका लागि जिल्ला अस्पताल रंगेली पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आफन्त र मुस्लिम अगुवाहरुले उपचार अभावमा उनीहरुको मृत्यु भएको भन्दै आक्रोस पोखेका छन् । मुस्लिम अगुवा एवं राजनीतिकर्मी वासिम आलमले जिल्ला अस्पताल रंगेलीमा अति आवश्यकिय अक्सिजन र चिकित्सक नभएका कारण समयमा उपचार पाउन नसक्दा चारै जनाको मृत्यु भएको बताए । ‘सेफ्टी ट्यांकीबाट उद्धार गरेर उपचारका लागि ल्याउँदा पनि केही ढिलाई भयो,’ उनले भने, ‘अस्पताल ल्याइपुराएपछि पनि उपचार पाउन नसक्नु अर्को दुर्भाग्य हो ।’