यस्तो छ बेलबारी आईडल बिवश मोेतेको जिवनकाहानी - Crazysaptahik.com

यस्तो छ बेलबारी आईडल बिवश मोेतेको जिवनकाहानी

क्रेजी साप्ताहिक
पथरी । सुर सप्तक प्रथम बेलबारी आईडलको उपाधि जितेपछि विजेता बिवश मोतेको चर्चा यतिबेला बेलबारीमा मात्र नभएर अन्य विभिन्न ठाउँमा समेत चुलिएको छ । यसअघि सानातिना कार्यक्रमका स्टेजमा प्रस्तुति दिदै विभिन्न कार्यक्रममा सहभागी भएपनि त्योबेला उनी खासै चर्चामा आएका थिएनन् । बेलबारी आईडल घोषित भएपछि उनको चर्चा सँगै उनको बाल्यकाल र हाल उनी कहाँ के गर्दैछन भन्ने बिषयमा खोजी गर्ने प्रयास गरिएको छ ।

मोरङको बेलबारीस्थित वडा नं ४ मा बि.स २०५४ साल चैत्र २७ गते मातापिता अनिशा र चन्द्रकुमार मोतेको ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका उनी सानैदेखि अध्यनका अलावा गायनमा पनि रुचि राख्दथे । आफना बुबा पनि गायक भएका कारण उहाँकै प्रेरणाबाट गायन तर्फ रुचि बढेको उनले बताए । मोते बेलबारीको गोदावरी बिद्या मन्दिरबाट माध्यमिक तह, ईटहरीकै बिश्व आर्दश कलेजबाट उच्च माध्यमिक तह र हाल सुनसरीको धरानस्थित पुर्बाञ्चल ईन्जिनियरिङ कलेजमा आर्किटेक्चरमा ब्याचलर अध्यायनरत रहेका छन ।

अध्ययन सँगसँगै गीत संगीतमा रुचि राख्ने उनी आफनो बुबाले गीत गाएको र गितार बजाएको देख्दा त्यसैतर्फ आकर्षित हुन्थे । उनले पढाईसँगै गीत संगीतलाई समेत निरन्तरता दिँदै आएका छन । कलेज जिवनबाट स्टेजमा प्रस्तुति राख्न थालेका उनी गायनमा कलेज प्रथम समेत भएका छन । उनले नेपाल आईडलको साप्ताहिक कभर कम्पिटिशनमा सहभागी भएर प्रथम स्थान समेत हासिल गरेका थिए ।

केही महिना अघि बेलबारीमा आईडल हुँदै छ भन्ने सुनेका उनलाई आईडलमा सहभागी हुने इच्छा जाग्यो, उनकी आमाले समेत उनलाई सहभागी हुन हौँस्याईन । उनी आईडलमा सहभागी पनि भए । शुरुमा धेरै प्रतिष्पर्धी हुँदा डर लागेपनि निरन्तर मेहनतको प्रतिफल उनी बेलबारी आईडल घोषित भए । उनलाई बेलबारी आईडलले थप उत्साहित मात्र बनाएन । एउटा नयाँ परिचय पनि थपिदियो । बेलबारी आईडल भएपछि आफुले एउटा नयाँ परिचय पाएको र आफनो ठाँउमा केही गर्न पाउँदा खुसी लागेको बताउँछन । पढाई सँगै गीत संगीतलाई निरन्तरता दिँदै अझ केही सिकेर नेपाल आईडलमा सहभागी हुने सोच रहेको उनले बताएका छन ।

सम्बन्धित खवर