क्रेजी साप्ताहिक
विराटनगर । अविरल वर्षाका कारण विराटनगरमा अवस्थित सहीद रंगहाला डुबान भए पछि असार २७ गतेदेखि हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता अब धरानमा हुने भएको छ ।
लिग आयोजक समितीले विहिबार धरानमा एक पत्रकार सम्मेलन गर्दै खराब मौसमका कारण प्रदेश राजधानीमा हुने भनिएका प्रदेश लिगका सम्पूर्ण चरणहरु धरानको प्रस्तावित रंगशालामा आयोजना हुने बताएको छ । असार २७ गते देखि ३१ गते सम्म लिगका सबै खेलहरु धरानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए ।
असार १६ गते सुरु भएको जिल्ला लिगबाट छनौट भएका ६ वटा टिम प्रदेश लिगमा सहभागी जनाउंदैछन् । प्रतियोगिताका लागि १ करोड प्रदेश सरकार र ३३ लाख रुपैयां अखिल नेपाल फुटबल संघ एन्फाले विनियोजन गरेको छ । आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करिब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ । विजेता टोलीले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया पाउनेछ ।