क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित विभिन्न सञ्चार क्षेत्रबाट नगरपालिकामा सुशासनको लागि पहल गर्ने स्थानीय पत्रकारहरुले जनाएका छन् । आइतबार नेपाल पत्रकार महासंघ प्रस्तावित पूर्वी मोरङ शाखाको आयोजनामा भएको सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले उक्त कुरा जनाएका हुन् ।
नगरपालिकाको सहयोगमा नगरकै सभा हलमा भएको सो अन्तरक्रिया कार्यक्रमा नगरको सुशासन कायम गर्न पत्रकारहरुले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नगरपालिका प्रमुख दिलिपकुमार राईले नगरमा सुशासन कायम गर्न आफू लागि पर्ने जनाए ।
नगर प्रमुख राईले नगरमा पारदर्शी, छिटो छरितो सेवा दिन, पारदर्शिता कायम गर्न प्रयत्न गरिहेको जनाए । राईले नगरमा कृषि, पर्यटन, सुरक्षा, बालबालिका, स्वास्थ्य, शिक्षा लगायतमा छिमेकी नगरहरु भन्दा छुट्टै र राम्रो गर्ने अनवरत प्रयत्न गरिरहेको जनाए । नगरमा कार्यक्षेत्र भएका पत्रकारहरुसँग नियमित रुपमा अन्तरक्रिया गर्न नगरले चाहेको प्रमख राईले बताएका छन् । नगरका प्रतिनिधिहरुले कही कतै कमिकमजोरी गरेमा लिखित वा मौखिक जानकारी दिन नगर प्रमुख राईले सञ्चारकर्मीहरुसँग आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देन, वडा नं. ६ का वडाध्यक्ष जय तामाङले पनि नगरमा सुशासन कायम गर्न आफूहरु लागि पर्ने जनाए । नेपाल पत्रकार महासंघ मोरङको सहसचिव सन्तोष राईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय पार्षद अर्जुन जम्नेली राई र नगर सूचना संयोजक भूपेन्द्र तिम्सिनाले सुशासन सम्बन्धी विचार राखेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य प्रदेश पार्षद मोहन भट्टराईले गरेका थिए ।
पथरीशनिश्चरे नगरपालिको आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट लेखन वृत्ति पाएका १५ जना पत्रकारहरुलाई रकम हस्तान्तरण गरिएको थियो । लेखनवृत्तिको स्तर हेरेर १५ जनालाई ८२ हजार ५ सय रकम वितरण गरिएको संयोजक अर्जुन जम्नेलीले बताए । लेखन वृत्तिमा संकलन भएका पत्रपत्रिका तथा रेडियो रिर्पोट नगर प्रमुख दिलिपकुमार राईलाई प्रदान गरिएको थियो ।