खेलाडीको विमा अनिवार्य गरिने - Crazysaptahik.com

खेलाडीको विमा अनिवार्य गरिने

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलकुद प्रतियोगितामा भाग लिने सबै खेलाडीको बिमा गरेर मात्रै खेलकुदमा सहभागी गराइने जनाएका छन् ।

खेलाडीको जोखिम न्यूनीकरण गर्दै खेलकुद क्षेत्रमा उत्प्रेरणाका लागि पनि सरकारले खेलाडीको अनिवार्य बिमा गराउनु पर्नेमा उनले जोड दिए। प्रदेश ५ प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको उद्घाटन गर्न प्यूठान आएका सदस्य सचिव सिलवालले नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा बुधबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खेलप्रतिको आकर्षण बनाउन खेलाडी बिमा अनिवार्य गर्न प्रष्ट पारेका हुन् ।

‘खेलकुद विद्यालयदेखि ओलम्पिकसम्म भन्ने नारासहित नेपालको खेलकुदलाई अन्तराष्ट्रसम्म प्रतिष्पर्धी खेलाडी उत्पादन गर्ने योजना गराउँदै छौँ’ सदस्य सचिव सिलवालले भने ‘खेल खेल्नुपूर्व बिमा गराइ खेलाडीको बिमा र खेललाई निरन्तरता दिने खालका कार्य गर्नु त्यसको पहिलो चरण हो ।’ खेल क्षेत्र पछिल्लो समय सबैको चासोको विषय बनेको भए पनि खेलाडीको निरन्तरताको अभाव देखिएको छ ।

मनोवल उच्च हुने क्रियाकलापसहित बाल्य अवस्थाबाटै खेलकुद क्षेत्रमा खेलाडी उत्पादन गर्ने पहिलो प्राथमिकतासहित अन्य खेलकुलका पूर्वाधार र प्रशिक्षणलाई प्रभावकारी बनाउने योजना सहित अगाडि बढ्ने सदस्य सचिव सिलवालले जानकारी दिए ।

राष्ट्रिय खेलकुद विकासका लागि लोक सेवा आयोगबाट स्थायील कर्मचारी नियुक्तिको तयारी, दक्ष प्रशिक्षक, पूर्वाधारसहितको खेल मैदानलगायतको व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत गरे । १३ औं सार्क खेल नेपालमा हुन लागेकाले आफूहरू काठमाडौंमा २० वटा र पोखरामा ७ वटा खेलको हुने गरी तयारीमा गरिरहेको उनको भनाई छ। साथै जिल्ला खेलकुद विकास समिति मार्फत् राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सञ्चालन गर्न सुझाव दिँदै राष्ट्रिय खेलकुद परिषद्ले त्यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्तसमेत गरे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.