अज्ञात समूहले जलायो जिल्ला अदालतको गाडी - Crazysaptahik.com

अज्ञात समूहले जलायो जिल्ला अदालतको गाडी

क्रेजी साप्ताहिक
पथरी । नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको जानकारी दिए ।

रानाभाटका अनुसार, आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ । गाडी बडु भाडामा बस्दै आएको कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरेर राखिएको थियो । राति सोही घरमा बस्दै आएका झपटबहादुर कुँवरलगायतले गाडीमा आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको रानाभाटले जानकारी दिए । विप्वल समूहले केही दिनअघि सरकारी गाडी चल्न नदिने चेतावनी दिएकाले घटनामा उसैको संलग्नता हुनसक्ने आशंका गरिएको छ । तर, खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खवर