क्रेजी साप्ताहिक
पथरी । नोबेल शिक्षण अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउँन सहजताका लागि पाँचथरमा एम्वुलेन्स प्रदान गरेको छ । पाँचथरबासीको सहजताका लागि स्थानीय नमुना बाल तथा युवा क्लवलाई नोबेलले करिव ११ लाख मुल्यको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो ।
पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले क्लवका अध्यक्ष सन्तोष श्रेष्ठलाई चावी हस्तान्तरण गर्दै एम्बुलेन्स सेवा सुभारम्भ गरेका छन् । कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले पाँचथरका अति बिपन्न एक सय बिरामीलाई नोबेलले निःशुल्क उपचार गर्ने घोषणासमेत गरे । ‘गाउँका अति गरिव बिरामीलाई राजनीतिक दलहरुले मिलेर ल्याउँनुहोस, हामी निःशुल्क उपचार गराईदिन्छौ ।’ उनले भने ‘तर, बिरामीको उपचार जस्तो पुण्यको काममा राजनीति नगरौ, सवै पार्टी मिलेर बिरामीको उद्धार गरौं ।’
नोबेलमा बिपन्न नागरिक औषधि उपचार कोष, आमा सुरक्षा कार्यक्रम र स्वास्थ्य वीमा मार्फत सहुलियतमा उपचार हुँदै आएको जानकारी दिदै डा.शर्माले सहुलियत सुविधाको उपयोग गर्न सवैलाई आग्रह गरे । समाजसेवाका क्षेत्रमा सक्रिय डा.शर्माले बिरामीको सहजताका लागि निःशुल्क एम्बुलेन्स दिएर ठुलो सहयोग पुर्याएको भन्दै पाँचथरबासीको तर्फबाट सोहि कार्यक्रममा डा.शर्मालाई सम्मानसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बु, कांग्रेस पाँचथर सभापति नरेन्द्रकुमार केरुङ्ग, महासमिति सदस्य ललित श्रेष्ठ, नेकपा नेता बीरदल राई, संघीय समाजवादीका कमल हाङ्गसरुम्वा, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ्ग नेम्वाङ्ग, सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोक, जिल्ला समन्वय समितिका नरबहादुर गुरुङ्ग, उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपाल, गैसस महासंघका उपाध्यक्ष क्षोमाया तामाङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेकोमा नोबेल अस्पताल सञ्चालक डा.शर्मालाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा गरे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नोबेल अस्पताल सञ्चालक डा.शर्माको सेवाभावको प्रशंसा गर्दै समाजसेवाका क्षेत्रमा डा.शर्मालाई उदयवान र उदाहरणीय व्यक्तिका रुपमा प्रस्तुत गरेका थिए । डा.शर्माले यसअघि मोरङको पथरीशनिश्चरे–९ पुलचौक स्थित त्रिपुरेश्वर शिव पञ्चायन मन्दिरलाई पनि निःशुल्क एम्बुलेन्स प्रदान गरेका थिए । शर्मा गत प्रतिनिधिसभाको चुनावमा मोरङ क्षेत्र नं–३ वाट नेपाली काङग्रेसबाट टिकट पाइ चुनाव समेत लडेका थिए । अहिले सो निर्वाचन क्षेत्रमा उनले स्वास्थ्यको क्षेत्रमा निःशुल्क सेवासमेत दिइरहेका छन् ।