सिंगापुरसँग नेपालको लज्जास्पद हार - Crazysaptahik.com

सिंगापुरसँग नेपालको लज्जास्पद हार

आज (आइतबार) भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनौटमा स्थान बनाएको छ ।

१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए । उपकप्तान मल्ल दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । त्यसपछि नेपाल सम्हालिनै सकेन । एकपछि अर्को विकेट गुमाइरह्यो ।

निकै दबावमा आएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको जोडी अन्तिम आशा थियो । दुबैले सातौं विकेटका लागि ३१ रनको साझेदारी पनि गरिसकेका थिए तर, १३.२ ओभरमा सोमपाल रनआउट हुन पुगे । दुई ब्याट्सम्यानबीच कम्युनिकेशन ग्याप हुँदा सोमपाल रनआउट हुन पुगेका थिए ।

यससँगै सिंगापुर जिततर्फ उन्मुख भयो । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरका सेलेडोर भिजयकुमारले चार विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । उसले पहिलो विकेट सस्तैमा गुमाएको थियो । तर टिम डेभिडले उत्कृष्ट पारी खेले ।

दोस्रो विकेटका लागि रोहन रंगराजनसँग ८९ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि मनप्रित सिंहसँग ६६ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । डेभिड ७७ रनमा आउट भए । रोहन ४९ र मनप्रितले ४२ रन बनाए ।

नेपालका स्पीनरद्वय बसन्त रेग्मी र सन्दीप लामिछाने निकै महंगो सावित भए । चार ओभर बलिङ गरेका बसन्तले ५४ रन दिए र भने सन्दीपले ३ ओभरमा ३४ रन खाए । अभिनाश बोहोराले ४ ओभरमा ३५ रन दिएर ४ विकेट हात पारे भने करण केसीले २६ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चिए ।
–अनलाइनखबरबाट

सम्बन्धित खवर