मोरङ: राजधानी काठमाडौंबाहिर पथरीमा पहिलो पटक रात्रीकालीन (नाइट मार्केट) लगाउनेबारे तयारी थालिएको छ । मोरङको पथरीशनिश्चरे १ स्थित पथरी बजारमा रात्रीकालीन बजार (नाइट मार्केट) लगाउने तयारी गरिएको हो ।
पथरी बजार सुनसरीको इटहरीदेखि करिब २० किलोमिटर पूर्व र झापा दमकदेखि १३ किलोमिटर पश्चिममा पर्दछ। मुख्य सडकसँग जोडिएको पथरीमा आइतबार र विहीबार बजार लाग्दै आएको छ । पथरी अमरदह, हसन्दह, कानेपोखरी, लेटाङ, जाते मंगलबारे बजारहरुको केन्द्रमा पर्दछ । यी सबै बजारहरु अहिले विकास हुँदै गएपनि पहिला पथरीबाटै उपभोग्य सामग्रीहरु आपूर्ति हुने गर्दथ्यो ।

पथरीलाई परिस्थितिअनुसार विकास गर्ने उद्देश्यले नगरको १ नम्बर वडा कार्यालयको योजनामा रात्रीकालीन बजार (नाइट मार्केट)को तयारी भइरहेको वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बुले बताए ।
पथरीको नगरपालिका लाइनमा प्रदेश सरकारको बजेटबाट असार अन्तिममा करिब ३ सय ५० मिटर सडक नयाँ कालोपत्रेसमेत भएको छ । नयाँ सडकले आकर्षण दिएपछि त्यस दायाँबायाँका घरहरुको रंग आफै मिलेर एउटै कलर बनाउने तयारीमा लागेका छ्न् ।
सोही स्थानमा रात्रीकालीन बजार (नाइट मार्केट)को तयारी थालिएको १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूले जानकारी दिए। नाइट मार्केटको लागि आवश्यक सुरक्षाको लागि सीसी क्यामेरा, सडकबत्ती (विद्युत), पार्किङलगायत आधारभुत वस्तुहरु जुटाउन योजना निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।
नाइट मार्केटको लागि पथरीमा घर भएका १ नम्बर प्रदेश मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेत लगायतसँग समन्वय भइरहेको वडा कार्यालयले जनाएको छ । सोही विषयमा वडा अध्यक्षको पहलमा मंगलबार ९ साउन १:३० नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बैठक बसेर थप निर्णयहरु भएका छन् ।
नाइट मार्केट लगाउने तयारी भएको सडकमा खाली ट्रिपर र ट्र्याक्टर हिँडाउन अहिलेदेखि नै निषेध गर्ने, त्यो लाइनमा भएको आलु गोदाम अन्यत्र सार्ने, ठेला व्यापारीलाई व्यवस्थित गर्ने, सडकको नालामाथि पसल राख्न बन्द गर्ने, कार र मोटरसाइकल पार्किङको लागि पथरी उद्योग वाणिज्य संघका अध्यक्ष र वडा अध्यक्षले सम्भावित स्थलको अध्ययन गरेर व्यवस्थित गर्ने, पश्चिम बस स्टेशनलाई पथरी पुल पश्चिम सार्नेलगायत निर्णय गरिएका छन् ।
बैठकमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी दिलिपकुमार गिरी, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष धनकुमार तामाङलगायत सहभागी थिए ।
पथरीमा रात्रीकालीन बजारको लागि आवश्यक आधारहरु तयार गर्दै के कस्ता सामग्री खरिद बिक्री हुन्छ र बजार सुरु भएपछि अनुशासनबारे समेत अध्ययन गरिने वडा अध्यक्ष लिम्बुले बताए ।
काठमाडौंको ठमेलबाहेक रात्रीकालीन बजार त्यति सफल भएको देखिन्न । ठमेल जतिकै व्यस्त नभएपनि ढुक्कले खाने, बस्ने र खरिद बिक्रीको व्यवस्था मिलाउन सके दिनमा आ–आफ्नो काम व्यस्त उपभोक्ताहरुका लागि रातको १०–१२ बजेसम्म बजार लगाउन सकिने सम्भावना देखिन्छ।

