पैनीमा फोहोर मैला नफाल्नुहोला–अध्यक्ष ऐङ्देन - Crazysaptahik.com

पैनीमा फोहोर मैला नफाल्नुहोला–अध्यक्ष ऐङ्देन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर सफा राख्न निरन्तर प्रयास गरिरहे पनि पथरी बजारको कतिपय ठाउँहरुमा फोहोर मैला व्यवस्थापनको समस्या रहेको वक्ताहरुले बताएका छन् ।

सोमबार पथरीशनिश्चरे–१ मा निर्मित किरात मार्ग निर्माण उपभोक्ता समितिद्वारा आयोजित सडक उद्घाटन तथा हिसाव सार्वजनिक कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन् । पथरीशनिश्चरे नगरपालिका १ का वडा अध्यक्ष बाबुराम एङ्देन, सदस्य धनप्रसाद साम्बा, मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष उदयकुमार राई (दिनेश), शिक्षासेवी प्रदिपकुमार राई, पथरी पैनी उपभोक्ता समितिको उपाध्यक्ष ध्रुवकुमार साम्सोहाङ, सदस्य मानबहादुर थापा, स्थानीय युवा तेजपाल लिम्बु लगायतको उपस्थिति रहेको कार्यक्रम किरात मार्ग निर्माण उपभोक्ता समितिको अध्यक्ष अर्जुन जम्नेली राईको सभापतित्वमा भएको थियो ।

किरात मार्ग उद्घाटन तथा आय ब्यय सार्वजनिक कार्यक्रममा वक्ताहरुले वातावरण तथा सरसफाइ सम्बन्धी बिषय राखेका थिए । कार्यक्रमको प्रमुख अतिथि बाबुराम याङ्देनले सडक, पैनीमा फोहोर मैला नफाल्न अनुरोध गरेका छन् । वडा अध्यक्ष लिम्बुले किरात मार्गलाई सुन्दर, सफा र शान्त बनाउन आफ्नो क्षेत्रबाट पहल गर्ने र मार्गको अपुरो काम पुरा गर्न र सडक पेटीमा राख्न कंक्रिटको गमला, फूलको बिरुवा वडाबाट योजना लगाउने प्रतिबद्धता ब्यक्त गरे । लिम्बूले आफूहरु वडामा निर्वाचित भएपछि मुन्दुम मार्ग(पुरानो पिपल चोक), साग सब्जी, मासु लाइन लगायतको क्षेत्र ब्यबस्थित गरेको बताए ।

किरात मार्गको १५३ मिटर लम्बाई र १० देखि १२ फिट चौडाइ सडकमा पेबल बिच्छ्याएर निर्माण सम्पन्न भएको हो । सडकको सोमबार १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बूको हातबाट रिवन काट्नुको साथै पहिलो पटक फोहोर मैलाको ट्याक्टर छिराएर उद्घाटन भएको हो ।

उद्घाटनसँगै निर्माण सम्पन्न गर्दा लागेको पूर्ण हिसावको विवरण सार्वजनिक तथा पारित भएको थियो । किरात मार्गमा १ नम्बर वडाको बजेटबाट छ लाख, मनकामना सामुदायिक वनबाट दुई लाख ५० हजार, उपभोक्ताबाट संकलन भएको ४५ हजार, सोही समितिले अघिल्लो आर्थिक बर्षमा गरेको कामबाट बचत भएको २७ हजार, ३८४ गरीले आठ लाख ८० हजारले पेबल लगाएको, सडक खुल्ला गर्न चार वटा घरको भित्ता भत्काएर लगाउने र खम्बा सार्ने काममा ३२ हजार ७१० रुपैया खर्च भएको र बचेको ३४ सयले भित्ताहरु किरात मार्ग तथा वातावरण सम्बन्धी नारा लेख्ने योजना रहेको उपभोक्ता समितिको कोषाध्यक्ष मिरा मगरले बताए । अघिल्लो बर्ष किरात मार्ग खुल्ला गर्न सडकछेउमा रहेको ११ वटा घर भत्काएर पुन निर्माण गरिएको समितिको उपाध्यक्ष यम सुब्बाले बताए ।

पथरी बजार पश्चिममा रहेको खोलाबाट दक्षिण भाग कृषि सिंचाइको लागि पैनी लगिएको छ । नगर सफा राख्ने उदेश्यले पथरीशनिश्चरे नगरपालिकाले फोहोर मैलाको लागि ट्रिपर, ट्याक्टर र कर्मचारीहरु राखेर नियमित रुपमा टोलटोलमा पठाउने गरेको छ ।

फोहोर मैलाको लागि हरेक घरबाट नगरपालिकामा वार्षिक रुपमा कर तिर्नुपर्ने हुन्छ । टोलटोलमा आउने फोहोर मैलाको साधनमा फोहोर मैला लगाउन छाडेर बोरा, कार्टन, महिलाले प्रयोग गर्ने प्याड, प्रयोग भएको कण्डम, बृद्ध, बालबच्चाको लागि प्रयोग भएको डाइपर, बियरको बोतल लगायतको फोहोर फाल्ने क्रम नरोकिएकोले सफाई अभियान निरन्तर राख्नु पर्ने उद्घाटन कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.