विराटनगरको विषादी प्रयोगशाला प्रयोगविहीन - Crazysaptahik.com

विराटनगरको विषादी प्रयोगशाला प्रयोगविहीन

क्रेजी संवाददाता
विराटनगर । तरकारी तथा फलफूलमा हुने विषादीको अवशेष परीक्षण गर्न प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला प्रयोगविहीन भएको छ । प्रदेश सरकारले सञ्चालन गरेको सो प्रयोगशाललाई संघीय सरकारले स्वीकृत नदिदा प्रयोगबिहीन बनेको हो ।

विराटनगरमा अवस्थित वाली संरक्षण प्रयोगशालामा तरकारी तथा फलफूलमा पाइने विषादी परीक्षण गर्न विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला प्रदेश सरकारले २०७६ असार २३ गते देखि सञ्चालनमा ल्याएको थियो ।

भारतसहित अन्य मुलुकवाट आयात हुने र स्वदेशमा नै उत्पादन हुने तरकारी तथा फलफूलमा रहेको विषादीको अवशेष परीक्षण गर्न विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला प्रदेश सरकारले २५ लाखको लगानीमा सञ्चालनमा ल्याएको थियो ।

प्रदेश १को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तरकारी तथा फलफूलमा पाइने विषादी परीक्षण गर्न सञ्चालन गरेको सो प्रयोगशाला सञ्चालनमा आएदेखि नै विराटनगर भन्सार कार्यालय रानीले मान्यता दिएको थिएन ।

संघीय सरकारले विषादीको परीक्षण गरेर मात्र तरकारी तथा फलफूल आयात गर्न दिने गरेको निर्णय तत्काललाई कार्यान्वयन गर्ने गरेको केही दिनमा प्रदेश सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएको थियो ।

केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले विराटनगरस्थित वाली संरक्षण प्रयोगशालामा कार्यरत प्राविधिकहरुलाई तरकारी र फलफूलमा पाइने विषादी परिक्षणको बारेमा जानकारी तथा प्रशिक्षण दिएर सो सुरु भएको थियो ।

किसानले उत्पादन गरेको वा कतैबाट आयात गरिएको तरकारीलगायत खाद्यवस्तु खानयोग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याइएको थियो ।

वाली संरक्षण प्रयोगशाला विराटनगरका प्रवक्ता घनश्याम बरालले एक वर्षदेखि कुनै पनि भन्सार कार्यालयबाट तरकारी तथा फलफूलको विषादी परीक्षणको नमुना नआएको बताए ।

स्थापना भएपछि सुनसरीको सेतुबन्ध भन्सार कार्यालय र कप्तानगञ्जवाट नमूना आएपनि विराटनगर भन्सार कार्यालयवाट कुनै पनि नमूना नआएको उनको भनाइ छ ।

नेपालमा कोभिड–१९ महामारीको रुपमा फैलिएपछि कुनै भन्सार कार्यालयले परीक्षण गर्ने नमूना नपठाएको उनले बताए । उनका अनुसार विराटनगर भन्सार कार्यालयले प्रयोगशाला स्थापना भएपनि विर्तामोडमा रहेको प्रयोगशालामा परीक्षणको लागि नमूना पठाएको उनले बताए ।

प्रदेश १को विराटनगर भन्सार कार्यालय बाहेक अन्य छोटी भन्सारको करिव पा“चसय आलु .प्याजको नमूना परीक्षण गरेको उनले जानकारी दिए । हाट बजार र किसानको खेतबाट ल्याएर परीक्षण गर्ने गरेको उनले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले प्रयोगशालालाई संघीय सरकारले स्वीकृती नदिएको बताए । सो प्रयोगशालालाई मान्यता दिन प्रदेश १को मन्त्रिपरिषदले निर्णय गरेर पठाएपनि स्वीकृती नपाएको उनले बताए ।

संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले स्वीकृती नदिएकाले विराटनगर भन्सार कार्यालय कुनै नमूना नपठाएको उनले बताए । तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले पनि स्वीकृती दिने आश्वासन दिएपनि कार्यान्वयन नभएको उनले बताए ।

विराटनगरमा नै प्रयोगशाला सञ्चालनमा आएपनि विर्तामोडमा परीक्षण गराउने विराटनगर भन्सार कार्यालयको नीतिप्रति व्यापारीले विरोध जनाउँदै आएका छन् ।

सब्जीमण्डी तथा गुद्री व्यवस्थापन समिति विराटनगरका सचिव साहेव अहमद गुड्डुले तीन घण्टामा हुने काम स्वीकृती नदिंदा दुईदिन लाग्ने गरेको बताए । उनले विषादी परीक्षणबिना कच्चा तरकारी तथा फलफूलको भन्सार नकाट्ने भएकाले विर्तामोडवाट परीक्षण गराएर आउन दुईदिन लाग्ने गरेको बताए ।

प्रदेश सरकारको प्रयोगशालालाई स्वीकृती नदिंदा समय खेरसँगै सड्ने र गल्ने भएकाले थप मूल्यभार उपभोक्तामाथि पर्ने गरेको उनले बताए ।

प्रदेश सरकारले प्रयोगशालमा कार्यरत प्राविधिक सहायक घनश्याम बरालका अनुसार दुईवटा विषादीको समूहको परीक्षण गरिने काम सुरु भएको थियो । कारवाइड विषादीको समूह र अर्गानोफस्पेट विषादीको समूहको परीक्षणको काम सुरु गरेको उनले बताए ।

बरालका अनुसारमा तरकारीमा ५ प्रकारका विषादीका समूह रहने भएता पनि दुई वटाको परीक्षण गरेर उपभोगयोग्य छ कि छैन भन्ने तय गरिने थियो ।

सो प्रयोगशालामा अहिले वालीमा लाग्ने रोग र किराको परीक्षण गर्नुको साथै जैविक विषादी परीक्षण उत्पादनको काम हुँदै आएको छ । ६ जना प्राविधिक सहितको १० कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा हाल चार जना मात्र प्राविधिक कर्मचारीहरु रहेको बताइएको छ ।
–उद्घोषबाट

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.