
क्रेजी संवाददाता
पथरी । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटीले स्थानीय सरकार पथरीशनिश्चरे नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
नगरका प्रमुख दिलिपकुमार राईंको अनुपस्थितिमा कार्यवाहक प्रमुखको भूमिकामा कार्यरत उपप्रमुख यमुना विष्ट बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै नागरिकको स्वास्थ्य सम्बन्धी ख्यालखेलाँची र हेलचेक्र्याइँ होइन, विषयगत ढंगले नै गम्भीर बन्न अनुरोध गरेको छ ।
पथरी आसपासका थुप्रै पालिकाहरूले आफ्नो क्षेत्र सुरक्षित राख्न र नागरिक संक्रमित हुन नदिन लकडाउन कार्यान्वयनमा ल्याइसक्दा पनि पथरी शनिश्चरे नगरपालिकाले कोरोना महामारीको तेस्रो लहरलाई रोकथाम र नियन्त्रणबारे केही नसोचेकोले ज्ञापनपत्र बुझाउन वाध्य भइएको युवा नेता मणि लुम्फुवाले बताउनुभयो । नागरिकको स्वास्थ्यसम्बन्धी सरकार प्रयत्नशील रहनुको सट्टा सरकार फेरबदल र मन्त्रीमण्डल बिस्तारको बजारीकरणमा केन्द्रित भएकै कारण पनि औषधी उपचारको अभावले देशव्यापी संक्रमण तीब्र भएको र संक्रमित दर पथरीमै पनि बढेकोले आफूहरूले सरोकारवाला सम्पूर्ण शक्तिको ध्यान केन्द्रित गर्नुपरेको नगर अध्यक्ष किशन चाम्लिङ राईंले बताउनुभएको छ ।
‘हाम्रा नागरिक नगरबाहिर जाने कुरा होस् वा बाहिरका नागरिक यहाँ आउने कुरा होस् ! यत्रतत्र देखिने मानिसको अस्वाभाविक भीडभाड, तीब्र आवागमन, बाक्लो उठबस, खुल्ला बजार र बिक्रीवितरण, बिना कुनै प्रवाह सार्वजनिक यातायात सञ्चालन आदि क्षेत्रमा रोक लगाइएन र प्रतिबन्धित तुल्याइएन भने यसले चाँडै नै मानवीय क्षति ल्याउने कुरालाई कसैले रोक्न सक्दैन । निश्चय नै यसबेला पछुताउनु सिवाय हामीसँग केही रहँदैन । यस्तो अवस्थामा स्वस्थ्यकर दिनचर्या हाम्रो पहिलो र प्रमुख शर्त हो । हाम्रो स्वस्थ जीवन र स्वस्थ दिनचर्या रहेमात्र जीवनसँग सरोकारित अन्य–अन्य क्षेत्रका कामहरू पनि आउँदा सहज दिनहरूमा गर्न सकिन्छ । जीवन नै नरहे पूर्वाधार विकास सहितको हाम्रो भौतिक समृद्धिको पक्ष फगत दिवासपना मात्र हुनेछ, मनमनै तुहिने छ ।’ अध्यक्ष राईं र सचिव रोशन गुरूङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।
युवा नेताहरू क्रमशः सञ्जीव गिरी, भक्त राईं, काशिहाङ राईं, रञ्जीत कार्की, बिरोज मगर, उपेन्द्र मादेन, नवीन ढकाललगायतको प्रतिनिधिमूलक उपस्थितिमा बुझाइएको ज्ञापनपत्र बुझ्दै नगर उपप्रमुख विष्ट बास्तोलाले आफूहरू पनि नागरिक स्वास्थ्यसम्बन्धी हर्दम गम्भीर रहेको र यसपटक पनि संक्रमण नियन्त्रण र रोकथाममा अविलम्ब लाग्ने प्रतिबद्धता राख्नुभयो ।

