छोटो फिल्म प्रतिस्पर्धा ‘एएनटीभी सर्ट्स’ हुँदै - Crazysaptahik.com

छोटो फिल्म प्रतिस्पर्धा ‘एएनटीभी सर्ट्स’ हुँदै

काठमाडौं । नेपाल नेटवर्क टेलिभिजनको आयोजनामा छोटो फिल्म प्रतिस्पर्धा ‘एनएनटीभी सर्ट्स’ आयोजना हुनेभएको छ ।

‘मेरो कथा, मेरो सिनेमा’ नारासहित हुने प्रतिस्पर्धामा भाग लिन चाहने इच्छुकले कथासारसहित कार्यालयमा सम्पर्क गरेर आवेदन दिन सक्ने भएका छन् ।

साउन २० गतेसम्म स्क्रिप्ट दर्ता गर्न सकिने बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभिनेता सुनिल थापा, निर्देशक दीपेन्द्र के खनाल र अभिनेत्री पूजा शर्मा प्रतिस्पर्धाका निर्णायकको रुपमा छन् ।

१२ मिनेटदेखि २४ मिनेटसम्म फिल्मको लम्बाइ तोकिएको छ । स्क्रिप्ट छनौट र निर्माण घोषणा साउन २५ गतेसम्म हुने र निर्माण समापन भदौ २५ गतेसम्म हुने जनाइएको छ ।

कात्तिक १ गते हुने पत्रकार सम्मेलनमार्फत विजेता घोषणा गरिने भएको छ । नेपाल नेटवर्क टीभीबाट असोज १ गतेदेखि प्रतिस्पर्धी फिल्म प्रसारण हुनेछ । प्रतिस्पर्धामा विजयी हुनेले नगद २ लाख रुपैयाँ, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार तथा उत्कृष्ट १० लाई नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।

उत्कृष्ट पाँच फिल्मकर्मीलाई डीएआर मुभिजले निर्माण गर्ने फिल्ममा मौका दिइने जनाइएको छ । अहिले परीक्षण प्रसारण भइरहेको टेलिभिजनले असोज १ गतेदेखि नियमित प्रसारण आरम्भ गर्ने जानकारी दिइएको छ ।

सम्बन्धित खवर