क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–२ मा महिला समूहले गार्मेन्ट उद्योग स्थापना गरेको छ ।
नगरको गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत तालिम लिएका महिलाहरुले स्थापना गरेको मखमली लघु उद्यमी समूहको गार्मेन्ट उद्योगको नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गरे ।
उनले नगरले तालिम प्रदान गरेका महिलाहरु दक्ष भएर उद्यमी वन्नका लागि यसप्रकारको उद्योग स्थापना भएकोमा खुसी व्यक्त गर्दै नगरले यसप्रकारको कामका लागि सधैं साथ र सहयोग प्रदान गर्ने बताए ।
कार्यक्रममा, पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आफु उपप्रमुख भएको समयमा थालिएको तालिमले आज यसप्रकारको सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै आफुले सधैं महिलाहरु सक्षम वन्ने काममा सहकार्य गरिरहने जनाए ।
उक्त अवसरमा २ नम्बर वडाध्यक्ष नैना राई सहितका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । लघु उद्यमी निर्माणका लागि यस अघि तालिम लिएकामध्ये १४ जनाले गार्मेन्ट उद्योग स्थापना गर्नुभएको हो ।
केही रकम जग्मा गरेर कपडा खरिद गरी नगरले तालिमका अवसरमा यसअघि प्रदान गरेको मेसिनबाट त्यसलाई सिलाउने काममा उनीहरु खटिएका छन् ।
उनीहरुका लागि पुन २ वटा इलेक्ट्रोनिक मेसिन र १ थान इन्टरलक मेसिन प्रदान गरिएको लघु उद्यम कार्यक्रमकी बरिष्ठ लघु उद्यम सहजकर्ता सपना कार्कीले वताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अघि बढेको हो ।