क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित देविगन्जमा शिवमहापुराण ज्ञान महायज्ञ हुने भएको छ ।
वडा नम्वर–२ मा स्थापित स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानको आयोजना हुन लागेको महापुराण ११ दिन सम्म संचालन हुने आयोजकले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
महायज्ञमा शिवमहापुराणको कथा वाचनसँगै ध्यान, योग साधना, रुद्राभिषेक, महामृत्युञ्जय जप साधना, ज्ञान मञ्च एवं भजन कीर्तन लगायतका कार्यक्रम रहने प्रतिष्ठानका अध्यक्ष नेत्र प्रसाद दाहालले बताए ।
प्रतिष्ठानले सो कार्यक्रमको आयोजनाबाट प्रतिष्ठानको परिसरमा हरिहर मन्दिर निर्माण, शान्ति स्तुपा निर्माण, औषधीजन्य वनस्पतिको नक्षत्र वाटिका निर्माण तथा जेष्ठ नागरिकहरुप्रति लक्षित गरी नारदनर्वदा स्मृति भवन निर्माणको लक्ष्य रहेको स्वामी निर्विशेषानन्द महाराजले बताए । उनका अनुसार नक्षत्र वाटिका निर्माणका लागी सुन्दर सामुदायिक वन र चौतारी सामुदायीक वनसँग सहकार्यको प्रयास भइरहेको छ ।
प्रतिष्ठानले समाजबाट लोप हुँदै गइरहेको संस्कार, संस्कृति लगायतलाई संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएको स्वामी निर्विशेषानन्दको भनाइ छ ।
प्रतिष्ठानले आयोजना गर्न लागिरहेको कार्यक्रमले ३० देखि ३५ लाख रुपैयाँ चन्दा, सहयोग मार्फत् संकलन गरी प्रतिष्ठानको लक्ष्य पूरा गर्ने योजना रहेको प्रतिष्ठानले बताएको छ । सो कार्यक्रमका लागि प्रतिष्ठानले सम्पूर्ण धर्मपे्रमी भक्तजनहरुलाई आमन्त्रण समेत गरेको छ ।
हिन्दु धर्मावलम्वीहरुका लागि पवित्र महिनाको रुपमा हेरिने श्रावण महिनाको १ गतेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ ।