गण्डकी प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले समग्र खेलकुद क्षेत्रलाई नै उत्साहित बनाएको बताएको छ । संघले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताले समग्र नेपाली खेलकुद तथा क्रिकेटलाई दुरगामी सकारात्मक प्रभाव पार्ने बताएको छ ।
साथै प्रतियोगिताले खेलाडीहरुलाई आर्थिक रुपमा सम्वद्ध बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न खेलाडीहरूको मनोबल बढाउने संघले उल्लेख गरेको छ । ‘आईसीसी र नेपाल सरकारको मान्यतामा पहिलो पटक नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको व्यवसायिक प्रतियोगिताले नेपाल खेल जगतलाई नै उत्साहित बनाएको छ ।
यस प्रतियोगिताले समग्र नेपाली खेलकुद तथा नेपाली क्रिकेटलाई दुरगामी रुपमा ठूलो सकारात्मक प्रभाव पार्नेछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता प्रतियोगिताले खेलाडीहरुलाई आर्थिकरूपमा सम्मृद्ध बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न खेलाडीहरूको मनोबल बढाउनेछ । लिगले अन्तर्राष्ट्रिय खेलाडीहरूसँग एकै मञ्चमा अनुभव साट्ने ठूलो अवसर समेत प्रदान गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
संघले नेपाल टि– द्वान्टी लिगको आयोजना नेपाल क्रिकेट संघको मात्र नभई गण्डकी प्रादेशिक क्रिकेट संघको समेत साझा सपना भएको बताउँदै गण्डकी प्रादेशिक क्रिकेट संघले पनि यस प्रतियोगितामा ऐक्यबद्धता जाहेर गर्दै लिगलाई सफल पार्नको निमित्त साथ सहयोग उल्लेख गरेको छ ।
नेपाली क्रिकेट इतिहासमै पहिलो पटक नेपाल क्रिकेट संघको आयोजना आगामी सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म काठमाण्डौको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्रेन्चाइज नेपाल टी–द्वान्टी क्रिकेट लिग आयोजना हुँदैछ ।