स्वराजको निधनप्रति नेपालका प्रधानमन्त्री तथा अन्य दलका नेताद्वारा समवेदना व्यक्त - Crazysaptahik.com

स्वराजको निधनप्रति नेपालका प्रधानमन्त्री तथा अन्य दलका नेताद्वारा समवेदना व्यक्त


क्रेजी साप्ताहिक
पथरी । भारतकी पूर्व्विदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति नेपालका प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका छन । पदमा रहदा पटक पटक नेपाल भ्रमण आएकी स्वराजको मंगलबार राति पौने १२ बजे निधन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतकी पूर्व्विदेशमन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

वरिष्ठ राजनीतिक नेता स्वराजको निधनले दुःखित भएको भन्दै प्रधानमन्त्रि ओलीले ट्विटरमार्फत श्रद्धान्जली व्यक्त गरेका छन् । उनले यस दुःखद घटनाबाट परिवार र भारतीय जनताप्रति परेको पीडाप्रति समवेदना प्रकट गरेका छन् । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सच्चा मित्रका रूपमा स्वराजलाई सम्झिएका छन् । उनले स्वराज वरिष्ठ राजनीतिक नेताको भएको भन्दै परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

त्यस्तै, समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्वराजलाई भारतको एक प्रतिभाशाली नेता भएको उल्लेख गरेका छन् । उनले आफ्नो ट्वीटमार्फत् युवा अवस्थामै उनीसँग परिचित हुने मौका पाएको भन्दै आफूले एक साथी गुमाएको उल्लेख गरेका छन् । यस्तै राप्रपा नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री कमल थापाले स्वराजको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले स्वराजलाई ‘एक्स्ट्रा अर्डिनरी ट्यालेन्ट’ भन्दै ट्वीट गरेका छन् । ‘नेपालले एक राम्रो साथी गुमाएको छ,’ उनले ट्वीटमा भनेका छन्, ‘अप्ठ्यारो अवस्थामा काम गरेका दिनहरू हृदयदेखि सम्झन चाहन्छु ।’

सम्बन्धित खवर