बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट - Crazysaptahik.com

बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट

क्रेजी साप्ताहिक
झापा । बिर्तामोड नगरपालिकामा अवस्थित तीन वटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

बिर्तामोड–९ मा अवस्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालय भवन बाहिर सोमबार बिहान करिब साढे चार बजे प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ । कार्यालय भवनको भित्ता, ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको छ । प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने– ‘भवनबाहिर विस्फोट त भयो, तर आगलागी नहुँदा कार्यालयको आवश्यक कागजात सहित अन्य सामानहरूमा त्यति ठूलो क्षति भएन ।’

बिर्तामोड–भद्रपुर सडकखण्डसँगै जोडिएको संयुक्त वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५ सय मिटर उत्तरमा पर्छ । घटनाबारे अहिलेसम्म कसैले जिम्मा नलिएको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठ घटनास्थल पुगेका छन् । प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले बम विस्फोट गराएको हुन सक्ने आशंका गरेका छन् ।

सम्बन्धित खवर