खाडीमा कमाएको ४४ लाख गाउँ विकासमा खर्चिने गाउँपालिका अद्यक्ष - Crazysaptahik.com

खाडीमा कमाएको ४४ लाख गाउँ विकासमा खर्चिने गाउँपालिका अद्यक्ष


क्रेजी साप्ताहिक
पथरी । पछिल्लो समय जनप्रतिनिधिहरु सुविधाभोगि बनेको तथा भ्रष्टाचारमा मुछिएको समाचारहरु सार्वजनिक भइरहँदा म्याग्दीको एउटा गाउँपालिकाका अध्यक्षले भने जनताको चाहना र माग पुरा गर्न व्यक्तिगत लाखौँ रुपैयाँ खर्चेर उदाहरणीय कार्य गरेका छन् । नेपाली काङ्ग्रेसबाट विजयी म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पूर्वाधार निर्माण गरी आफ्नो गाउँपालिकालाई समृद्ध बनाउन व्यक्तिगतरुपमा ४४ लाख रुपैयाँ सहयोग गरेका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वा्चित भएपछिको २० महिनाको अवधिमा उनले गाउँपालिकाको पूर्वाधार निर्माणलगायत विपन्‍नहरुका लागि थप ४४ लाख ६० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । यो मध्ये बढी रकम उनले पूर्वाधार निमार्णमा नै खर्च गरेका छन् । चुनावको समयमा आफूले जनतासँग गरेका बाचा पुरा गर्न व्यक्तिगत लगानी गरी जनताको चाहना पुरा गरेको उनले बताए । १० वर्ष रोजगारीको सिलसिलामा खाडी मुलुकमा बिताएका भण्डारी स्वदेश आएर निर्माण व्यवसायीका रूपमा काम गर्दै आएका थिए । उनले समृद्ध गाउँपालिका निमार्णका लागि सडक निमार्णमा रकम खर्च गरेका छन्। गाउँपालिलको १ न वडाको स्याउलेबाट बाउनस्वारा सम्मको २.५ किलोमिटर सडकको लागि ५० हजार, गाउँपालिकाको ४ नम्बर वडा दग्नामको चिम खोला कुइनेमंगले जोड्ने दोभान भिरको सडकमा १० लाख, दग्नामको कान्छी गाउँसम्म सडक सञ्जालले जोड्नका लागि ५५ हजार, वडा न. ६ पाखापानीको वडा कार्यालयबाट औँला बस्तीसम्म पुग्ने ३ किलोमिटर सडकका लागि ३ लाख २७ हजार, त्यस्तै कालावाङ चोवुबाट उमीखर्कसम्म जोड्ने सडकका लागि १ लाख ५१ हजार खर्चिएका छन् ।

त्यसैगरि गाउँपालिका वडा नं ८ कुइनेमंगले नक्कल डाँडादेखि घ्यासीखर्क सडक मर्मतका लागि ५६ हजार, ७ नम्बर चिम खोला ठाक्कल डाँडा मर्मतका लागि २ लाख २३ हजार रुपैयाँ निजी खर्च गरेर अध्यक्ष भण्डारीले सडकको पहुँच विस्तार गरेका स्थानीयले बताएका छन् । त्यस्तै उनले २ न वडाको माचखर्कमा रहेको बाल शिक्षा भवन मर्मतका लागि ११ हजार १ सय ११ रुपैयाँ, रिसिनचौतारी बनाखी खानेपानी मर्मतका लागि ५ हजार, धुपी चौर दलित बस्तीलाई खानेपानीको लागि १ लाख, ३ नम्बर वडाको रानी पौवा युवा क्लबको खेल मैदान निमार्णमा २५ हजार,अक्षता युवा क्लबको खेल मैदान निमार्णको लागि ३४ हजार खर्च गरेका छन् भने ४ न. वडामा भुमेपुजाका लागि २५ हजार, दग्नामको एकता युवा क्लबको खेल मैदान निर्माण गर्न ५० हजार, त्यस्तै ५ न. वडाको प्रसिद्ध पर्यटकीय स्थल टोड्के मन्दिरमा रहेको गाईगोठलाई व्यवस्थित गर्नका लागि ५० हजार, त्यस्तै गौडमुनी खेल मैदान निमार्णका लागि २ लाख ८४ हजार, पात्लेखर्क खेल मैदान निमार्णका लागि ४५ हजार, चिमखोलाको तारो खेल मैदान निमार्णका लागि ४२ हजार, पात्लेखर्क सामुदायिक भवनको हुरीले उडाएको छानो छाउनका लागि ३५ हजार रुपैयाँ सहयोग गरेको उनको भनाइ छ । ‘मैले चुनाव अघि जनतासँग गरेका बाचा गाउँपालिकाको बजेटले मात्र पुरा गर्न नसकिने भएपछि व्यक्तिगत सहयोग गरेको हुँ’ भण्डारीले भने ‘म विदेशी भूमिमा गएर दुःख पाएको मान्छे हो । अहिले मेरो घरपरिवार र छोराछोरीलाई आफ्नो खुट्टामा उभ्याइदिएको छु, मलाई पैसा कमाउँला भन्‍ने छैन ।’ ‘जनताले गाउँपालिको विकासका लागि मलाई जिताएका हुन, म जनताको काममा कुनै कन्जुस्याइँ गर्दिन’ अध्यक्ष भण्डारीले भने ।

ध्यक्ष भण्डारीले आफ्नो पारिश्रमिकले गरिब र विपन्न बालबालिकाको लागि अक्षयकोष स्थापना गरेका छन् । जनताको चाहाना अनुसार एउटा नमुना र समृद्ध गाउँपालिका बनाउने भण्डारीले चाहाना रहेको बताउँछन्। लामो समय निर्माण व्यवसायी भएर काम गरेका भण्डारीले आफूले राम्रो शिक्षा पाउन नसकेको बताउँदै आफूले पाउने सुविधाको रकम सम्पूर्ण गरिब परिवारका छोराछोरीका लागि खर्च गर्ने बताएका छन् । अब मैले जति कमाउँछु आधा परिवारका लागी र आधा गरिब जनताका लागी खर्च गर्छु उनले भने।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.