क्रेजी साप्तहिक
पथरी । न्युज २४ टेलिभिजनवाट प्रशारित कार्यक्रमका प्रश्तोता रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार सालिकराम पुडासैनि आत्महत्या प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले युवराज कँडेललाई पनि उनीसँगै नियन्त्रणमा लिएको छ। बिहीबार साँझ चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट दुवै जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए । लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् ।
पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ । भिडियो बाहिरिएसँगै कैयो जनताले मान्दै आएका उनिलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेख्नेहरुको लर्को नै लागेको थियो ।
पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले बताए। ‘घटना केही शंकास्पद देखिएको छ’, उनले भने, ‘भिडियोमा पुडासैनीले लिएका नामका व्यक्तिसँग थप अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरेका हौं।’ प्रहरीले बिहीबारै कार्कीलाई पनि पक्राउ गरेको छ ।
पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका छन् । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। उनले सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेको भिडियोमा उल्लेख गरेका छन् । लामिछानेका कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको उल्लेख पुडासैनीले गरेका छन्।
लामिछानेले भने आफ्नो कुनै संलग्नता नरहेको र प्रहरीले अनुसन्धान गर्दा दोषी भेटिए आफू कारबाहीको भागीदार हुने धारणा फेसबुकमार्फत सार्वजनिक गरेका थिए।