रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश - Crazysaptahik.com

रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश


क्रेजी साप्ताहिक
पथरी । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । पत्रकार शालिकराम पुडासैनि आत्महत्या प्रकरणमा लामिछानेलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र रुकु कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो । बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो। चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट दुवै जनालाई पक्राउ गरेको थियो । लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।

पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेल मिलेर आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि आफु विवश भएको बताएका छन् । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। उनले सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेको भिडियोमा उल्लेख गरेका छन्। लामिछानेका कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको उल्लेख पुडासैनीले गरेका छन्। रविको पक्राउपछि उनका फ्यानहरुले चितवन जिल्ला अदालत र इलाका प्रहरी कार्यालय चितवन घेराउ गरेका छन ।

सम्बन्धित खवर