क्रेजी साप्तहिक
पथरी । पत्रकार शालिकराम पुडासैनीको न्यायको पक्षमा चितवनमा अर्को मानवसागर उर्लिएको छ । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् ।
पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै उनिहरुले शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरेका हुन् ।
‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । उनीहरुमाथि पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग छ ।