वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट - Crazysaptahik.com

वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट


काठमाडौं । अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् ।

पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा सोमबार गरेका हुन् । यो प्रबन्ध नेपाल वायुसेवा निगममा तत्काल लागु हुने र निजी क्षेत्रका हवाइसेवा कम्पनीहरुसँग पनि यस बारेमा परामर्श गरी कार्यान्वयन गराउन तत्काल पहल गरिने भएको बताइएको छ ।

मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलन मन्त्री भट्टराईले यो निर्णयको घोषणा गरेका हुन् ।

मन्त्र भट्टराईले त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गरेका छन् । यो विमानस्थल सुधारसँगै रामेछाप विमानस्थललाई आन्तरिक विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न स्तरोन्नति गरिने पनि बताए ।

उनले त्रिभुवन विमानस्थल क्षेत्रमा सरकाले तोकेको संवैधानिक निकायका सम्माननीयहरुलाई मात्रै गाडी सहित जान दिइने पनि बताए । जस अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले गाडीसहित प्रवेश पाउनेछन् ।

मन्त्री भट्टराईले त्यसक्रममा पशुपतिक्षेत्र, नेपाल वायुसेवा निगम, लुम्बिनी सहितका प्रमुख क्षेत्र सुधारको कार्ययोजना पनि ल्याएका छन् । उनले नेपाल वायुसेवाका सबै जहाजबाट देश विदेशमा उडान गर्ने गरी काम गर्न लागिएको बताए ।

चीनको गोन्झाउमा उडानका लागि सहमति पत्र प्राप्त भइसकेको जनाउँदै उनले अन्य देशमा पनि पहल भइरहेको उल्लेख गरे ।
–थाहाखबर

सम्बन्धित खवर