
क्रेजी साप्ताहिक
झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ ।
नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को शनिबार बसेको बैठकले आइतबारदेखि यही साउन २२ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
केही दिनअघि वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए। संक्रमित व्यक्तिसँग रहेकाहरूको कन्टयाक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर लकडाउन नै गरेको उनले बताए ।
प्रमुख रानाका अनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । तर, सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।
मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने नपाउने उनले बताए। संघसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।
नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिसलगायतका सेवा बन्द गरिने नगरप्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले जानकारी दिए । नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । पाँच दिनका लागि गरिएको यो व्यवस्था संक्रमणका आधारमा थप गर्न सकिने बताइएको छ ।

