पथरी शनिश्चरेमा सञ्चारकर्मी सहित ९५ जनाको पीसीआर परीक्षण - Crazysaptahik.com

पथरी शनिश्चरेमा सञ्चारकर्मी सहित ९५ जनाको पीसीआर परीक्षण

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कोरोना भाइरस भए नभएको परीक्षण गर्न आइतबार जनप्रतिनिधि र सञ्चारकर्मी सहित ९५ जनाको थ्रोट स्वाब संकलन भएको छ ।

संघीय संसदीय समितिले वैज्ञानिक वन सम्बन्धी अनुगमनको लागि साउन १७ गते पथरी शनिश्चरेमा अवस्थित हरियाली सामुदायिक वनको कार्यालयमा आएर कार्यक्रम गरेका थिए ।

सो कार्यक्रममा सहभागी हुन आएका डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएपछि प्रमुख घिमिरेले आफ्नो फेसबुक सन्जाल मार्फत सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेत रहन सूचना जारी गरेका थिए ।

प्रमुख घोमिरेको स्टाटस आएपछि पथरीमा एक प्रकारको आतंक भएको थियो । सामाजिक सन्जाल प्रयोग गरि घिमिरेलाई कोरोना हुनु त्यो कार्यक्रममा सहभागी सबैलाई भाइरस भएको जस्तो प्रचार भएको थियो । सोही कारण पथरीमा नगरपालिकाको पहलमा तत्काल पीसीआर परीक्षण भएको हो ।

वनको कार्यक्रममा सहभागी भएका नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रवक्ता यामप्रसाद गुरागाईं, गोबिन्द भण्डारी लगायत वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, सञ्चारकर्मीहरु अर्जुन जम्नेली राई, सन्तोष राई, मोहन भट्टराई, दिनेश सुब्बा, कुमार खड्का, भूमीप्रसाद पाठक, ईस्वर दुलालको पथरी नगर अस्पतालका स्वास्थ्यकर्मी मार्फत् स्वाब निकालेर कोरोना परीक्षणका लागि पठाइएको छ ।

 

यस्तै सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिन, सब डिभिजन वन कार्यालय उर्लाबारीका प्रमुख तारिणी चौधरी, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर लगायतका पदाधिकारी सदस्यहरु, पञ्चायत माबिका प्रधानाध्यापक अर्जुन बुढाथोकी, समाजसेबी युवराज बास्कोटा, तुलशी ढकाल लगायत ७५ जनाको स्वाब संकलन भएको हो । आइतबारै पथरी बहुमुखी क्याम्पसमा स्थित क्वारेन्टिनमा बसेकाहरु मध्ये २० जनाको पनि स्वाब संकलन भएको छ । संकलित स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगरमा ल्याब परीक्षण हुन्छ । वनको कार्यक्रममा लेटाङ नगरमा प्रमुख शंकर राई, शान्ती सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष कुलबहादुर गुरुङ लगायत सहभागी भएका थिए ।

भाइरस नियन्त्रण गर्न पथरीशनिश्चरे नगरमा साउन २३ गते देखि दोस्रो पटक लकडाउन सुरु भएको छ । नगरमा हालसम्म ५ जनामा कोरोना पोजेटिभ देखिए पनि सवै जना स्वास्थ्य भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.