
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्न पाउने भएका छन् ।
युरोपेली फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले यूईएफएको कोरोना प्रोटोकल तोडेका नेयमारलाई चेतावनी मात्रै दिँदै कारबाही नगर्ने बताएपछि फाइनल खेल्न पाउने भएको हो ।
यूईएफएले उनलाई चेतावनी मात्र दिई कुनै कारबाही नगर्ने बेलायती मिडिया दि मिररले जनाएको छ । पीएसजीले आइतबार राति जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दै छ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ ।
पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगमाथि तथा बायर्नले फ्रान्सेली क्लब लियोनमाथि समान ३–० को जत निकाल्दै फाइनलमा स्थान बनाएको थियो । पीएसजीले लाइप्जिगमाथि ३–० को जित निकालेपछि नेयमारले लाइप्जिगका डिफेन्डर मार्सेल हेलस्टेनबर्गसँग जर्सी साटासाट गरेका थिए ।
यूईएफएको कोरोना प्राटोकल तोडेका कारण नेयमारलाई एक खेलको प्रतिबन्धसँगै १२ दिनको अनिवार्य सेल्फ आइसोलेसनमा राख्ने अनुमान गरिएको थियो । तर, यूईएफएले त्यसमा कुनै कारबाही नगर्ने स्पष्ट पारेको छ । यूईएफएको ३१ पेजको प्रोटोकलमा खेलाडीलाई मैदानमै आफ्नो जर्सी उतार्न नपाउने र मैदानमा जर्सी साटेको पाइएमा एक खेलको प्रतिबन्ध र १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सजाय राखिएको छ ।
त्यसैका आधारमा नेयमारले फाइनल खेल गुमाउने चर्चा चलेको थियो । यूईएफएले खेलाडीले जर्सी साटफेर गर्ने कुरामा जोगिनुपर्ने र खेलाडीकै स्वास्थ्यलाई मध्यनजर गर्दै बनाइएको यस नियमलाई ख्याल गर्न आग्रह गरिएको दि मिररमा उल्लेख छ ।
– एजेन्सी

