क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएकाले अस्पताल र औषधि पसल बाहेक शनिबारबाट सम्पूर्ण बन्दको आह्वान गरेपछि नगरपालिका कार्यालयबाट आज (आइतबार) बन्दको अवस्थाका बारेमा अनुगमन् गरिएको छ ।
अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिमार्फत हिजो बिहान १० बजेबाट अस्पताल र औषधि पसल बाहेक सम्र्पूणखाले पसल, ब्यवसाय, कार्यालय, वित्तिय संस्था, यातायात संचालन सहित हिडडुलमा पूर्ण प्रतिबन्ध गरिएको थियो ।
नगर उपप्रमुख, समन्वय समिति सदस्य एवम् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट बास्तोला, अनुगमन् सदस्यहरु यामप्रसाद गुरागाईं, निर्मला गदाल सहित नगर प्रहरीको टोलीले पूर्णरुपमा लकडाउन सहित नगर शिल गरिएको अवस्थाका बारेमा विभिन्न वडामा अनुगमन् गरेको छ ।
टोलीले वडा नम्वर १ को पथरी बजार, २ को बुद्धचोक, ४ र ९ को शनिश्चरे, ४ को कुशलबजार, ६ को भातेगौंडा, केचना, ७ को किर्तिपुर, ८ को मिलनचोक, सोमबारे, ९ को रिंगुवा, पुलचोक र १० को नयाँ मंगलबारे सहितका क्षेत्रमा अनुगमन् गरेको हो ।
ती क्षेत्रमा फाटफुट रुपमा खुलेका पसल, होटल बन्द गराइएको छ । सडकमा हिँडडुल गर्नेहरुलाई घरमै सुरक्षित बस्न र मास्कको अनिवार्य प्रयोग गर्दै सामाजिक दूरी कायम गरेर स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरिएको छ । इलाका प्रहरी कार्यालय र शसस्त्र प्रहरीले समेत विभिन्न ठाउँमा लकडाउनको अनुगमन् गरिरहेको छ । वडाका जनप्रतिनिधिहरुबाट समेत अनुगमन् गरिएको छ ।
सुनसरीको दुहवीमा अवस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा कोरोना भाइरस फैलिएको बुझेर पूर्णरुपमा लकडाउनको अवस्था आइपरेको हो ।
भदौ २ गते पथरी शनिश्चरे १ को आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका उनलाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट ५ गते पोजेटिभ आएको थियो ।
जस अनुरुप उनलाई समुदायस्तरमै कोरोना भएको बुझेर उनको सम्पर्कमा आएकाहरु तथा त्यसअघि क्वारेन्टिनमा रहेका वडा नम्वर २ र ४ का संक्रमित २ पुरुषको समेत सम्र्पकमा आएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा स्वाब संकलन गरिएको छ ।
८० जनाको स्वाब संकलन गरी हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताउनु भयो । उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ । उनीहरुको रिपोर्टका आधारमा लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने निर्णय गरिने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनुभयो ।