नगरमा ७ वटा कार्यक्रम तथा योजना प्राप्त - Crazysaptahik.com

नगरमा ७ वटा कार्यक्रम तथा योजना प्राप्त

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले संघीय सरकार सहित सहयोगी संस्थासँगको पहलमा स्वास्थ्य सहितका ७ वटा कार्यक्रम तथा योजना प्राप्त गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अगुवाईमा राजधानी काठमाडौंमा मन्त्रालय र सहयोगी संस्थाहरुसँग भेटघाट तथा समन्वय गरी नगरका लागि कार्यक्रम तथा योजना प्राप्त भएको हो । नगरका युवाहरुलाई उद्यमी वनाउने कार्यक्रम सञ्चालनका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघसँग नगरले सम्झौता गरेको छ । साथै नगरको योजनामा रहँदै आएको व्यापारिक भवन ( सपिङ कम्प्लेक्स) निर्माणका लागि नगर विकास कोष कार्यालयसँग तत्कालै सहमति गर्ने सम्झौता भएको छ । जसमा कोषले बढी रकम र नगरले केहि रकम व्यहोर्ने गरी भवन निर्माण कार्य अघि बढ्ने छ ।

१५ शैयाको नगर अस्पताल सञ्चालनका लािग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डाक्टरको दरवन्दी उपलब्ध गराउने सहमति पनि भएको छ । साथै स्वास्थ्य विभागले महिलाहरुको भीआइए समस्याका लागि पाठेघरको मुख सेक्ने आधुनिक मेसिन उपलब्ध गराएको छ । नगर अस्पतालमा कोरोना भाइरस संक्रमितका साथै अन्य विरामीको उपचारका लागि राष्ट्रिय आविस्कार केन्द्रले ३ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध भएको छ । केन्द्रका अगुवा डा. महावीर पुनले सामग्री प्रदान गरेका थिए ।

यसका साथै शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग ( यूएनएचसीआर) ले संघीय मामिला मन्त्रालयमार्फत एउटा कार्गाे ट्रक र एउटा ट्रयाक्टर उपलब्ध गराउने पनि सहमति भएको छ । नगर प्रमुख राईका साथै स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, न्यायिक समितिका उजुरी प्रशासक विश्वमणि निरौला सहितको टोली सहभागी भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.