ट्रष्टद्वारा स्वास्थ्य सामग्री प्रदान - Crazysaptahik.com

ट्रष्टद्वारा स्वास्थ्य सामग्री प्रदान

क्रेजी संवाददाता
पथरी । विराट नेपाल मेडिकल ट्रष्टले कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सतर्कताका लागि सोमबार पथरी शनिश्चरे नगर अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

ट्रष्टले नगर अस्पतालका लागि २० थान पीपीइ, ३० थान फेसशिल्ड, ५० थान हेण्ड सेनिटाइजर, ५० थान केएन नाइन्टीफाइभ मास्क, ३ सय थान सर्जिकल मास्क र ३ सय थान सर्जिकल ग्लोब्स प्रदान गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर वस्नेत, स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी, ट्रष्टका जिल्ला कार्यक्रम संयोजक पुनम विष्टले नगर प्रमुख दिलीपकुमार राई, डाक्टर फरिन्दा गुरुङ सहितलाई सामग्री हस्तान्तरण गर्नुभयो । प्रदेश स्वास्थ्य निर्देशनालय समेतको सहकार्यमा ट्रष्टले उर्लाबारी, बेलबारी, सुन्दरहरैंचा, कानेपोखरी, रंगेली, रानी, झुर्किया सहितका मोरङका १४ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

यस्तैगरी, कारितास नेपालमार्फत पथरी शनिश्चरे नगरपालिकाले संक्रमण भएको १० दिन भित्रका कोरोना संक्रमितलाई भेट्दै स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम आज वडा नम्बर ५,६ र ७ मा सम्पन्न गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू, ७ नम्बर वडा सदस्य विर्खबहादुर पिठाकोटे मगर (विरोज), स्वास्थ्य शाखाका जगतप्रसाद मगर, कारितास नेपाल दमकका गोविन्दराज कट्टेल, सीमा खड्का सहितले सामग्री वितरण गर्नुभएको हो । अव बाँकी रहेको वडा नम्बर ४, ८ र ९ मा वुधबार सामग्री वितरण गरिने छ ।

कारितास इन्टरनेशनलको सहयोगमा कारितास नेपाल दमक मार्फत् संक्रमितहरुलाई घर घरमा गएर भेटी आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पुरा गरी संक्रमणमुक्त वन्न सीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य सामग्री वितरण कार्य गरिएको हो । जसमा, २ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको किड वितरण भएको छ । सामग्री सहित घर घरमा जनप्रतिनिधि आएर आत्मबल बढाउँदा संक्रमितहरु खुशी बनेका छन् ।

सम्बन्धित खवर