
क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरमा अवस्थित वडा नम्बर ४, ८, ९ र १० मा सोमबार शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत ह्विल चियर, वैशाखी, टवाइलेट चियर, सेतो छडी, ट्राइसाइकल, वाकर, एल स्टीक, ट्राइपोड स्टीक, कान सुन्न सहयोग पुर्याउने हेयरिङ एड मेसिन सहितका सामग्री वितरण भएका हुन् ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा नम्बर ४ मा वडाध्यक्ष गोविन्दबहादुुर भण्डारी, नगरका कानूनी सल्लाहकार दीपकुमार राई, ८ मा वडाध्यक्ष बाबुराम दहाल, सदस्य मुनादेवी गजमेर, ९ मा वडा सदस्य इन्द्रावती गुरुङ सहितले सामग्री वितरण गर्नुभयो । उपप्रमुख वास्तोलाकै अगुवाईमा १० नम्बरमा वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य, सदस्य मनकुमारी विश्वकर्मा, अनोज घिमिरे सहितले वितरण गर्नुभयो । वितरण कार्यमा करुणा फाउण्डेशनका उमेश कुँवर, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, समुदायमा आधारित पुनस्र्थापना सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
यसअघि वडा नम्बर १, २, ३, ५, ६ मा सामग्री वितरण भएको थियो । केहि छुट तथा असक्तका लागि घरमै सामग्री पुर्याइने छ । जसमा कुल १ सय ९ जनालाई सहायक सामग्री वितरण गर्ने कार्यक्रम हो । ३९ जनालाई ह्विल चियर, ११ जनालाई वैशाखी, ३ जनालाई टवाइलेट चियर, ५ जनालाई सेतो छडी, २ जनालाई ट्राइसाइकल, ३ जनालाई वाकर, ७ जनालाई एल स्टीक, ७ जनालाई ट्राइपोड स्टिक, ५ जनालाई स्टिक, २७ जनालाई कान सुन्न सहयोग पुर्याउने हेयरिङ एड मेसिन प्रदान भएको छ ।

