नेपाल सुपर लिग (एनएसएल) का टिमहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्ट्स एम इभेन्ट म्यानेजमेन्टसँगको सम्झौता टुङ्ग्याएपछि मात्र तयारी थाल्ने बताएका छन् । आज एनएसएल र क्लबका पदाधिकारीसँगको बैठकले एन्फाले दिएको मितिमा प्रतियोगितामा भाग लिन तयार भएको तर, त्यसका लागि पहिले सम्झौता पूरा हुनु पर्ने बताएका थिए ।
‘क्लबहरू प्रतियोगिताका लागि सकरात्मक छन् । उनीहरुले पहिलो एन्फासँग सम्झौता टुङ्ग्याउन भनेका छन् । सम्झौता सकिसकेपछि एन्फाले दिएको मितिमा प्रतियोगितामा भाग लिन भनेका छन्,’ नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका सीईयो सुदीप शर्माले भने ।
एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले असोज २३ देखि मङ्सिर २ गतेसम्म एनएसएल आयोजनाका लागि मिति तय गरेको थियो । उक्त मितिमा आयोजकले प्रतियोगिता गर्न तयार भएको बताएको छ ।