रेडस्टारमा अध्ययनरत पथरीशनिश्चरे–३ का विपिन प्रदेशकै उत्कृष्ट - Crazysaptahik.com

रेडस्टारमा अध्ययनरत पथरीशनिश्चरे–३ का विपिन प्रदेशकै उत्कृष्ट

क्रेजी संवाददाता
पथरी । इन्टरनेशनल स्कुल अवार्ड (आई.एस.ए.) २०२१–२०२४ विजेता स्कुल रेडस्टारमा अध्ययनरत विपिन पोखरेलले व्यवस्थापन कक्षा १२ को परीक्षामा प्रदेश नं. १ कै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
पथरीशनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टारले एस.एल.सी. (कक्षा १२) मा पाँच वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याइरहेको स्कुलले दाबी गरेको जानकारी पत्रकार सम्मेलन मार्फत् गराएको छ । बुधबार विद्यालय हातामा पत्रकार सम्मेलनमा ३.८१ जिपिए ल्याई प्रदेशको उत्कृष्ट बन्न सफल पथरीशनिश्चरे–३ का विपिन पोखरेललाई सम्मान पनि गरिएको थियो ।

यस्तैगरी कृतिका भट्टराईले ३.७५, एलन थेगिम लिम्लुले ३.७१, भुवन घिमिरे र नम्रता बुढाथोकीले .३.६२ जिपिए प्राप्त गरेका छन् ।
यसै शैक्षिक सत्रमा २ सय ६० विद्यार्थी मध्ये ३.६ भन्दा माथि ६ जना र ३.२ जीपीए भन्दा धेरै जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५४ जना रहेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाले जानकारी गराउनुभयो ।
यसैगरी सहभागी विद्यार्थी मध्ये २.८ जीपीए भन्दा माथि १ सय ८ जनाले प्राप्त गरेका छन् भने २.४ जिपीए भन्दा माथि ५४ जना र जिपिए २ भन्दा माथि ३७ जना उत्तीर्ण भएका छन् ।

अहिले देशकै ४९ प्रतिशत विद्यार्थी असफल भएको नतिजा सार्वजनिक भइरहँदा रेडस्टारले निरन्तर ९५ प्रतिशत भन्दा माथि विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस्तैगरी विद्यालयबाट वि.सं. २०७५ सालमा शुशीला बास्तोलाले ३.३९ जीपीए ल्याएर नगरकै उत्कृष्ट नतिजा हासिल गरेकी थिइन् भने वि.सं. २०७६ सालमा विनिता धिमालले ३.७० जीपीए सहित प्रदेश नं १ मै दोस्रो स्थान हासिल गरेकी थिइन् ।
वि.सं. २०७७ सालमा चन्द्रमान गुरुङले ३.६२ जीपीए प्राप्त गरेका थिए भने वि.सं.२०७८ मा सुरेश राजवंशी र रेजिना अधिकारीले ३.७८ जीपीए प्राप्त गरेका थिए ।

यस्तैगरी गत वर्ष २०७९ मा त्रियुगा लिम्बुले ३.७० जिपिए र मेरिना मगरले ३.६६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका थिए । त्रियुगाले प्याब्सन आवद्ध विद्यालयहरू.मध्ये मोरङ जिल्लाकै उत्कृष्ट जीपीए हासिल गरी सम्मानित भएकी थिइन् ।
यस्तै उत्कृष्ट नतिजा हासिल गर्नमा निरन्तर मूल्यांकन प्रणाली अवलम्बन गर्दै परियोजना कार्यलाई निरन्तरता दिइएकाले यो नतिजा हासिल भएको विद्यालयका निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले बताउनुभयो ।
विद्यालयका संस्थापक राजु तिम्सिनाले पत्रकार सम्मेलनमा भन्नुभयो–‘हामीले युवा उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिएका छौं । सिकाईको एउटा पाटो उत्प्रेरणा हो भनेर मानेका छौं । यसैले हामीहरूले राष्ट्रिय स्तरमा ख्याती कमाएका उत्प्रेरक ल्याएर कार्यक्रम गर्ने गरेका छौँ । आजको यसैको प्रतिफल हो यो परिणाम ।’
यसरी पथरी शनिश्चरे नगरपालिकामा अवस्थित यस रेडस्टार स्कुलले एकपछि अर्काे सफलता हात पार्दै अनवरत रुपमा अघि बढिरहेको छ ।
सो कार्यक्रममा विद्यालयका संस्थापक सुजन बास्तोला, शिक्षक शिक्षिका, कर्मचारी समेतको उपस्थिति रहेको थियो । शैक्षिक संयोजक तिर्थ दाहालले धन्यवाद ज्ञापन गर्दै पत्रकार सम्मेलनको समापन गर्नुभएको थियो । पत्रकार सम्मेलनको सञ्चालन भाईस प्रिन्सिपल बसन्त मादेनले गर्नुभएको थियो ।

सम्बन्धित खवर