पथरी शनिश्चरेमा स्वास्थ्य विमा सुरु - Crazysaptahik.com

पथरी शनिश्चरेमा स्वास्थ्य विमा सुरु


क्रेजी साप्ताहिक
पथरी । स्वास्थ्य बिमाको कार्यक्रम मोरङको पथरीशनिश्चरे नगरपालिकामा हिजोबाट सुरु भएको छ । नगर कार्यपालिकाको बैठकपछि नगर प्रमुख दिलिपकुमार राईले उपप्रमुख यमुना विष्ट वास्तोलालाई स्वास्थ्य बिमा कार्ड वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् । सो अवसरमा, नगर प्रमुख राई सहितका कार्यपालिका सदस्य तथा कर्मचारीहरुले आ–आफ्नो पारिवारिक स्वास्थ्य बिमा कार्ड लिएका छन् ।

पथरी स्वास्थ्य चौकीलाई पथरी नगर अस्पतालका रुपमा परिणत भई एमबीबीएस डाक्टर समेत नगरमा उपलब्ध भएपछि सोही अस्पताललाई बिमाको प्रमुख विन्दु मानेर बिमा कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख राईले जानकारी दिए । उनले बिमा सहयोगीहरुसँग कुराकानी गर्दै प्रभावकारी रुपमा सवै वडामा बिमा कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिए । प्रत्येक वडामा १÷१ जनाका दरले नियुक्त भएका बिमा सहयोगीहरुले वडा वडाका घर घरमा गएर परिवारका लागि स्वास्थ्य बिमा गराउने छन् ।

बिमाका लागि वडा नम्वर १ मा उमा अधिकारी, २ मा रञ्जु गुरुङ, ३ मा मनिता राई, ४ मा निर्मला पोखरेल भट्टराई, ५ मा सावित्रा ढकाल, ६ मा रमला घिमिरे, ७ मा आरती लिम्बू, ८ मा रीता खड्का, ९ मा पार्वती राय र १० मा रिना वस्नेत सहयोगी कर्मचारीका रुपमा नियुक्त भएका छन् । बिमाका लागि ५ जनासम्मको परिवारमा वर्षको १ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचारका लागि वर्षको ३ हजार ५ सय रुपैयाँ विमा स्वरुप अग्रिम जम्मा गर्नुपर्नेछ । ५ जना भन्दा बढी परिवार भएमा सो रकममा प्रति सदस्य ७ सयका दरमा रकम थप गर्दा थप २० हजारको सेवा पाउने प्रावधान रहेको छ । १० जनासम्मको परिवारको २ लाखसम्मको सेवा पाउने छन् । यसको अवधि १ वर्षको हुने र अरु वर्षमा पुन सो रकम नविकरण गर्नुपर्ने हुन्छ । यस अघि ५ जनाका लागि वार्षिक ५० हजारको बिमामा २ हजार ५ सय, ५ भन्दा बढी व्यक्ति भएका प्रति व्यक्ति ४ सय २५ रुपैयाँ थप गर्नुपर्ने प्रावधान थियो ।

अपांगता भई रातो कार्ड पाएका परिवारले सबै निशुल्क बिमित हुन पाउने छन् । कुष्ठरोगी र एमडीआर टीबी भएका परिवारले पनि निशुल्क बिमित हुन पाउने छन् । ७० बर्ष माथीका जेष्ठ नागरिकले निशुल्क बिमित हुन पाउने छन् । महिला स्वास्थ्य स्वयंसेबिका ले पनि ५० प्रतिशत छुट पाउने छन् । प्लाष्टिक सर्जरी गरेको, लागू पदार्थ सेवन गरी घाइते भएको, आपसी झैझगडा गरेको, कृत्रिम गर्भाधान गरेकोलाई विमा उपचार नहुने सरकारी प्रावधान छ ।

सम्बन्धित खवर