रमेश बने मिस्टर काठमाडौं - Crazysaptahik.com

रमेश बने मिस्टर काठमाडौं

नेपाल आर्मीका रमेश कार्कीले राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीच भएको प्रतिस्पर्धामा रमेश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका हुन् ।

रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए। उनले विभिन्न तौलसमूहमा पहिलो भएका सिटी फिट्नेसका उमेश डंगोल (५५ केजी), फिट्नेस ग्यारेजका अमिर थापा (६० केजी), सेप्स टु फिट्नेसका विवेक विष्ट (६५ केजी), फिट्नेस ग्यारेजका मिथुन लामा (७० केजी) र ग्यालेक्सी फिट्नेसका ललित धिमाल (७५ केजी) लाई पछि पारे ।

उपाधिसंगै रमेशले १ लाख ५० हजार नगद पुरस्कार पाए । आफ्नो तौलसमूहमा पहिलो भएवापत रमेशले छुट्टै १५ हजार नगद पुरस्कार पनि हात पारे । हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए ।

महिला एथलेटिक्स फिजिक्समा टोटल फिट्नेसकी रोजी पाख्रिन पहिलो, भक्तपुरकी सनम मुल गुठी दोश्रो र वेभ फिजिकल फिटनेसकी जस्मिन लामा तेश्रो भए । जुनियर पुरुष मिस्टर काठमाडौंमा जिमखानाका ओजेशचरण जोशी पहिलो, प्याराडाइस फिट्नेसका किशोर कार्की दोश्रो र द व्यायमशालाका ऋतिक घिमिरे तेश्रो बने ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरसम्ममा फिट्नेस फस्टका ईश्वर शाही, फिट्नेस प्लसका विशुराम केसी र सेप्स टुका राजीव थापा क्रमशः शीर्ष तीन स्थानमा रहे ।

सोही स्पर्धाको १७० सेन्टिमिटरमाथि जिमखानाका धीरज घर्तीले स्वर्ण, सेप्स टुका गिरीराज रोकाले रजत र बडी ग्यारेजका युवक खानले कांस्य जिते । यि चार स्पर्धाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई सांसद कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, आयोजक संघका अध्यक्ष सुरेश सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ३६ खेलाडीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.