क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले शुक्रबार (आज) पनि नगरबाट सञ्चालन भएका विभिन्न योजनाहरुको अनुगमन् गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, नगर प्रवक्ता एवम् अनुगमन् समिति सदस्य यामप्रसाद गुरागाईं, इन्जिनियर कृष्णप्रसाद कोइराला सहितको टोलीले वडा नम्वर २ बाट बुद्धमार्गमा थालिएको कालोपत्रेको अनुगमन् गरेको छ ।
प्रिमिक्स विधिबाट थालिएको कालोपत्रेको अनुगमन्पछि टोलीले वडा नम्वर ६ को अमरसिंह माविमा शौचालय निर्माणको अनुगमन् गरेको छ । नगरपालिकाको ७ लाख र विद्यालयबाट १ लाख ५ हजार जुटाएर शौचालय निर्माण गरिएको छ ।
४ नम्वर वडा अन्तर्गत पिप्ले खोलामा २७ लाखको लागतमा निर्मित ५ दशमलव ५० मिटर चौडाई र ९ दशमलव ५० मिटर लम्वाईको पक्की पुलको पनि समितिबाट अनुगमन् भएको छ । समितिले, ३० लाखको लागता शुक्रबारे दोहोलु सडक ग्राभेल मर्मत, कल्भर्ट, वाल तथा ह्यूमपाइप लगाएको योजनाको समेत अनुगमन् गरेको छ । सो भन्दा उत्तरमा १ हजार २ सय मिटर दोहोलु शुक्रबारे सडक कालोपत्रेका लागि बेस हालेको अवस्थाको पनि अनुगमन् गरिएको छ ।
टोलीले वडा नम्वर ८ शुक्रबारे बजारमा अति विपन्न अवस्थामा बेसहारा बनेकी कुष्ठरोगले अपाङ्गता भएकी एकल महिला तुम्वादेवी राईको घर निर्माणमा पहल थालिएको अवस्था पनि अवलोकन गरेको छ । यस अघि नगरपालिकाको प्राविधिक सहितको टोलीले दयनीय अवस्थाको राईको घरको अवस्थाको अवलोकन गरेपछि सहयोगीहरुले घर निर्माणमा विभिन्न सामग्री सहयोग पुर्याउन थालेका छन् ।