क्रेजी साप्ताहिक
पथरी । संविधान दिवशका अवसरमा मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रमा बसोबास गर्ने २ जना संविधानसभा सदस्यलाई आज (शनिबार) सम्मानित गरिएको छ ।
संविधान दिवशको ३ दिने कार्यक्रमको अन्तिम दिन पहिलो संविधानसभा सदस्य (०६४ का) लालबहादुर सुस्लिङ मगर र दोस्रो संविधानसभा सदस्य (०७० का) चण्डीप्रसाद राईलाई संविधान निर्माणमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।
तत्कालीन मोरङ निर्वाचन क्षेत्र नम्वर २ बाट नेकपा माओवादीमार्फत सुस्लिङ र तात्कालिन नेकपा एमालेमार्फत राई संविधानसभा सदस्य निर्वाचित बन्नु भएको थियो । नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले उनीहरुलाई सम्मानित गर्नुभयो ।
उक्त क्रममा सभासद द्वयले संविधान निर्माणका क्रममा अतिवादीहरुसँग संघर्ष गरेर जनताको सर्वाेपरी हितको संविधान बनाउन लागि परेका घटनाक्रमहरु सुनाउनु भएको छ ।
शासकलाई यो संविधानले सहि दिशाबोध गराएर देश र जनताको उन्नती गर्न सक्ने उहाँहरुले जनाउनु भयो । उहाँहरुले लामो समय सामन्तीतन्त्र, बेथिती, भ्रष्टाचार तथा गरिवीमा जकडिएको मुलुकलाई २ वर्षमै आमुल परिवर्तन गर्न नसकिने भएकाले जनताको सवै अपेक्षा तत्कालै पुरा हुन भइनसकेको चर्चा समेत गर्नुभयो ।