लक्ष्मीमार्ग गोल्डकपः धरान सेमिफाइनलमा - Crazysaptahik.com

लक्ष्मीमार्ग गोल्डकपः धरान सेमिफाइनलमा


क्रेजी साप्ताहिक
पथरी । धरान फुटबल क्लब मोरङको लक्ष्मीमार्गमा सुरु तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको उद्धघाटन खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई घरेलु मैदानमा ४–३ गोल अन्तरले निराश बनाउँदै धरान अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा धरानका बर्तमान राई, बुद्ध चेम्जोङ, मनोज राई र विष्णु सुनारले गोल गरे । मनिष गुरुङको प्रहार पोलमा लागेर फर्कियो ।  आयोजकका साइमन राई, विक्रम लिम्बू र अनुज मगरको प्रहार मात्रै पोस्टको दिशा पायो । । सुनिल खड्काको प्रहार धरानका गोलरक्षक लक्की कार्कीले रोकिदिए । मिलन राईको प्रहार पोलमा लागेर फर्किएनु आयोजकको दुर्भाग्य बन्यो । खेलमा आयोजकको तुलनामा धरानको प्रदर्शन उत्कृष्ट रहयो । दुवै टिमको फिनिसिङ फितलो हुँदा निर्धारित समयमा नतिजा निस्कन नसक्दा खेलको निर्णय लिन टाईब्रेकरसम्म पर्खनु परेको हो ।

खेलको १५ औं मिनेटमा तीर्थ बस्नेतको प्रहार आयोजकका गोलरक्षक छिरिङ तामाङले विफल पारिदिए । २८ औं मिनेटमा धरानकै वर्तमान राईको प्रहार दायाँ बार हुँदै बाहिरियो । ४७ औं मिनेटमा तीर्थ बस्नेतको सशक्त प्रहारलाई आयोजकका गोलरक्षक तामाङले विफल पारिदिए । ५५ औं मिनेटमा उमेश राईको प्रहार क्रस बारमाथिबाट बाहिरिएपछि धरानले निर्धारित समयमा गोल गर्न सकेन । २२ औं मिनेटमा सुनिल खड्काको प्रहारलाई धरानका गोलरक्षक लक्की कार्कीले उत्कृट ढंगबाट बचाउ गरे । ४६ औं मिनेटमा अरुण लिम्बूको प्रहार क्रसबार माथिबाट बाहिरियो । ६० औं मिनेटमा सुनिल खड्काले गरेको प्रहारलाई धरानका गोलरक्षक कार्कीले बचाउने क्रममा रिबाउण्ड भएपछि विकेश सुब्बाले गरेको अर्को प्रहारले पनि पोस्टको दिशा लिन नसक्दा आयोजकले अन्तिम चारमा स्थान पक्का गर्ने अवसर गुमायो ।

खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक लक्की कार्की घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए ।  बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा सुरु प्रतियोगिता असोज १० गतेसम्म सञ्चालन हुने छ । आठवटा टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्धघाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरे । प्रथम हुने टिमले पाँच लाख र द्धितिय हुने टिमले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । आइतबार झापा–११ र एपीएफ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर