जितिया पर्वको व्रत बस्दा मृत्यु - Crazysaptahik.com

जितिया पर्वको व्रत बस्दा मृत्यु


क्रेजी साप्ताहिक
पथरी । जितिया पर्वको व्रत बस्दा महोत्तरीको एकडारा गाउँपालिकामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको सो वडाका वडाध्यक्ष सुमन्तकुमार रायले जानकारी दिए ।

यस वर्षको जितिया पर्व लामो अवधिको भएको र लामो समयसम्म पानीसमेत नखाइ व्रत बसेकाले उनको मृत्यु भएको स्थानीयको बुझाइ छ । जितिया पर्वको समापनअघि कुनै खानेकुरा वा पानी खाएमा व्रत भङ्ग हुने मान्यता छ । यस वर्षको जितिया पर्व शनिबार बिहान ४ बजेदेखि उपवास बसेर आइतबार बेलुका ३ बजे (पारन) अन्न जल खाने कार्यक्रम थियो । मिथिलेश देवी शनिबार बिहान ४ बजेदेखि नै जितिया पर्वको उपवास बसेकी थिइन् । उनलाई खानेकुरा वा पानी खानभन्दा पनि मानेकी थिइनन् ।

तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिन्छ । जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको सर्वसाधारण बताउँछन् । मृतक वृद्धाको दुई छोरामा एक जना छोरा रोजगारीको क्रममा भैरहवामा र अर्को छोरा भारतको राजधानी नयाँदिल्ली बस्दै आएका छन् । आइतबार उनीहरु घर आउन नसकेको र आज उनीहरु आउनासाथ अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित खवर